
महोत्तरी ।सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीले आफ्नो १६औ स्थापना दिवस मनाएको छ । शसस्त्र द्वन्द चल्दै गर्दा नेपाल प्रहरी र नेपाली सेनाको विकल्पको रुपमा दुई सुरक्षा निकायबाट मिश्रित भई बनेको सशस्त्र प्रहरी‘शान्ति सुरक्षा प्रतिबद्धता’को आदर्श बोकि २०५८ सालमा नेपालमा अस्तित्वमा आएकोमा २०६४ वैशाख १६ गते सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय महोत्तरी स्थापना भएको हो । हाल सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीबाट नामांकित भई महोत्तरीमा आफ्नो पहिलो सेवा सुरु गरेको दिनलाई स्मरण गर्दै सशस्त्र प्रहरीले १६औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि उत्सव मनाएको हो ।

द्वन्दको वेला महोत्तरी समेत माओवादीको समय समयमा हुने आक्रमणबाट असुरक्षित रहेको वेला सशस्त्र प्रहरीले तत्कालिन माओवादी लडाकु विरुद्ध गरेको कार्यवाही र सिमा रक्षा तथा आम जनसमुदायको सुरक्षा को कारण महोत्तरीमा सगौरव स्थापित हुन सफल भएको सशस्त्र प्रहरीहाल एक हेडक्वाटर सहित प्रस्तावित २ सिमा सुरक्षा गुल्म,१० सुरक्षा बेश र ७ बिओपी सहित १९ युनिटबाट शान्ति सुरक्षा तथा सिमा सुरक्षा गर्दै सेवा प्रवाह गर्दै आएको छ ।

शनिवार सशस्त्र प्रहरी बल नेपाल नं. ९ हेडक्वाटर मटिहानी (जलसागर)मा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय,महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ट उपरीक्षक माधव प्रसाद पौडेलले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरेकोमा गण तथा मातहतका युनिटहरुलाई बधाई दिदै राज्यले दिएको जिम्मेवारी पुरा गर्न सदैव उत्साहका साथ लागिरह्न निर्देशन दिए ।

सशस्त्र प्रहरी वरिष्ट उपरिक्षक पौडेलले राज्यले सशस्त्र प्रहरीको काँधमा निरन्तर थप जिम्मेवारीहरु थप्दै गएकोमा यो सशस्त्र प्रहरीको लागि गौरवको विषय भएको र सशस्त्र प्रहरीले पाउने जस्तो सुकै जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको समेत बताए । उनले सिमा सुरक्षा देखि कारागार तथा अन्य विशिष्ट निकायहरु समेतको सुरक्षामा निरन्तर खटिरहेको सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा पनि उत्तम कार्य गरिरहेकोमा सशस्त्र प्रहरीका जवान देखि अधिकृतसम्मको उच्च योगदान रहेको थपे ।
यता सशस्त्र प्रहरी बल नेपाल नं. ९ हेडक्वाटर मटिहानीका गणपति सशस्त्र प्रहरी उपरिक्षक लेखनाथ खनालले पहिलो पटक स्थापना दिवसको उत्सव मनाइएको बताउदै अव यसले निरन्तरता पाउने बताए । उनले सशस्त्र प्रहरीले संगठनको स्थापनाकाल देखि नै नेपालको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापन गर्ने सन्दर्भमा जनताको जिउधनको रक्षा,सिमा सुरक्षा,आतंककारी गतिविधी नियन्त्रण,सशस्त्र विद्रोह तथा पृथकतावादी गतिविधी नियन्त्रण,महामारी तथा विपद व्यवस्थापन,हुल तथा दंगा व्यवस्थापन,भन्सार तथा राजश्व चुहावट नियन्त्रण,भिआइपी सुरक्षा,औद्योगिक सुरक्षा,रेल्वे सुरक्षा तथा निर्वाचन सुरक्षा लगायतका राज्यद्वारा प्रद्घत प्रमुख महत्वपुर्ण जिम्मेवारीहरु बहन गर्ने सन्दर्भमा सशस्त्र प्रहरीबल नेपालले आफनो मन,बचन र कर्मले देश र जनताको खातिर जिल्ला स्थित अन्य सुरक्षा निकायहरुसंग समन्वय र सहकार्य गर्दै उल्लेख्य योगदान पुर्याउन सफल भएको बताए ।

उनले सशस्त्र प्रहरीले कोभिडको समय देखि अन्य विभिन्न विस्म परिस्थितिमा देश र जनताको सेवा गर्ने शौभाग्य पाएको स्मरण गराए । उनले चालु आर्थिक वर्षमै सशस्त्र प्रहरीका विभिन्न युनिटहरु समेतको अथप प्रयासले पाच करोड १६ लाख ९२ हजार भन्दा वढी मुल्य बरावरको अवैध चोरी ,पैठारी तथा निकासीका मालसामानहरु प्रक्राउ गर्न सकेको बताए ।
यता कार्यक्रममा उपस्थित महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्ल सहितका विशिष्ट अतिथीहरुले समेत कार्यक्रममा सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरीका सहिद परिवारलाई सम्मान समेत गरिएको थियो । यता स्थापना दिवसको उपलक्ष्यमा आयोजित विभिन्न दुरीको दौडा तथा अन्य खेलमा उत्कृष्ट सशस्त्र प्रहरीका खेलाडीहरुलाई समेत सम्मान तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रममा वृक्षारोपन,साँस्कृतिक कार्यक्रम सहित केक काटेर उत्सव मनाइएको हो ।