
जनकपुरधाम । संस्थागत विद्यालय संरक्षण समितिले आइतबारदेखि जनकपुरधामका निजी विद्यालयहरुको अनुगमन सुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र विना दर्ता निजी विद्यालयहरु सञ्चालन भइरहेको गुनासो बढेपछि समितिले अनुगमन गरेको हो ।
नयाँ शैक्षिक सत्रको शुरुवातमा दर्ताबिना नै विद्यालयहरु सञ्चालन भइरहेको गुनासो बढेपछि आफूहरुले अनुगमन सुरु गरेको समितिका संयोजक अवधेश तिवारीले जानकारी दिए ।
तिवारीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ वकिल टोलमा सञ्चालित स्मार्ट एजुकेशन एकेडमी नामक विद्यालय स्थानीय तहको अनुमती विना नै सञ्चालनमा रहेको पाइएको उनले बताए ।
तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाले २०७४ साल असार ३० गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ मा सञ्चालनका लागि त्रिमूर्ति मोन्टेसरी स्कुलको नाममा अनुमति दिइएपनि वडा नम्बर–१ वकिल टोलमा नाम परिवर्तन गरि विद्यालय सञ्चालन भइरहेको उनले जानकारी दिए ।

कक्षा ५ सम्म पढाई हुने सो विद्यालयको नाम परिवर्तन गरिएको विद्यालयका प्रधानाध्यापक रमेश कुमार शर्माले बताए । उनले विगतमा सञ्चालनमा रहेको त्रिमूर्ति मोन्टेशरी स्कुलको शेयर खरिद गरी नाम परिवर्तन गरिएको दाबी गरे ।
सो विद्यालयको ठाउँ परिवर्तन लगायत जनकपुरधाम उपमहानगरपालिकाले अनुमती नदिएको संयोजक तिवारीको दाबी छ ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ जानकी नगरमा सञ्चालनमा रहेको नाइटिङगेल स्कुल पनि दर्ताबिना नै कक्षा ८ सम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको पाइएको थियो । अनुगमन समिति सो विद्यालयमा पुग्दा बाहिर नाइटिङगेल एजुकेशन एकेडमीको नामले सञ्चालन गरिएपनि भित्र भगवती आदर्श विद्या मन्दिरको नाममा कक्षा सञ्चालन भइरहेको थियो ।
विद्यालयका शिक्षक ललेन्द्र साहले पुरानो भगवती आदर्श विद्या मन्दिरको नाममा विद्यालय सञ्चालनमा रहेपनि नाइटिङगेल एजुकेशन एकेडमीको नाममा विद्यालयको नाम परिवर्तनको प्रक्रिया सुरु गरेकाले वोर्ड लगाइएको प्रतिक्रिया दिए ।
यता, जनकपुरधाम उपमहानगरपालिकामा सो नामले कुनै विद्यालय दर्ता नै नभएको शिक्षा समितिका सदस्य रविन्द्र चौधरीले बताए । सो विद्यालय भगवती आदर्श विद्या मन्दिरको नाममा कक्षा ६ सम्म मात्र अनुमती पाएपनि कक्षा ८ सम्म पढाइरहेको पाइएको थियो ।
संस्थागत विद्यालय संरक्षण समितिका संयोजक तिवारीले नाइटिङगेल एजुकेशन एकेडमीलाई बन्द गर्न जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गर्ने बताए । उनले यस्ता विद्यालयमाथि समितिले सांगठनिक कारबाही अगाडी बढाउनेसमेत चेतावनी दिए ।

यो अनुगमन अब नियमित रुपमा गर्ने र दर्ताबिना सञ्चालनमा रहेका विद्यालय, अनुमति पाएको भन्दा बढी कक्षासम्म सञ्चालन गरेको, टिसी बिना विद्यार्थी भर्ना गरेको तथा सामुदायिक विद्यालयमा नाम दर्ता भएका विद्यार्थीलाई अध्यापन गराइरहेका संस्थागत विद्यालयहरुमाथि कारबाही गरिने संयोजक तिवारीले बताए ।
अनुगमनमा समितिका सह–संयोजकद्वय रविन्द्र चौधरी, सुजित कुमार मिश्र, प्याब्सन धनुषाका पूर्वअध्यक्ष विश्वलाल सिंह, प्रमोद अग्रवाल, आशिष झा, डिके चौधरी, दिपक ठाकुर लगायतका संस्थागत विद्यालयका सञ्चालकहरुको सहभागिता रहेको थियो ।