
काठमाडौँ – भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँ आइपुगेका छन्।
अभिनेता खान आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्। उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् यहाँ आएका हुन्।
५८ वर्षीय खानलाई पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे।
खान एयरपोर्टबाट सिधै बूढानीलकण्ठतिर लागेका छन्। उनकाे निकट स्रोतका अनुसार उनले त्यहाँस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान गर्नेछन्।
मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिएका बलिउड अभिनेता आमिरको फरक छाप र छवि छ। पछिल्लो समय लालसिंह चड्डा बक्स अफिसमा असफल भएपछि उनी अभिनयबाट टाढा छन्। तर बलिउडलाई उनले कैयौँ हिट फिल्म दिएका छन्।
टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर चुलिएकाे थियाे।