महोत्तरी- गौशाला नगरपालिका-१ का ४० वर्षीय रामबिनेक यादवलाई कथित ठूला जातिको भोज खाएको निहुँमा दलित समुदायका सोहि वडा १६ वर्षीय बालक अविनास पासवानलाई कुटपिट गरेको आरोपमा गिरफ्तार गरिएको छ।
शिरीष न्युज लगायतका विभिन्न संचारमाध्यमहरु घटनाबारे समाचार प्रकाशन गरे लगतै इलाका प्रहरी कार्यालय गौशलाले आरोपितलाई गिरफ्तार गरेको हो ।




त्यसैगरी मानवअधिकारकर्मी र संचारकर्मीहरुको विशेष पहलमा पीडित पक्षले वैशाख ३० गते इलाका प्रहरी कार्यालयमा जातीय छुवाछुत, भेदभाव र हिंसा तथा कुटपिट विरुद्ध जाहेरी दर्ता गरेका छन् । पीडित बालकका आमा गीता देवी पासवानले न्यायको माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।
पीडित पक्षले न्यायको लागि पहल गरिदिनु हुन भनि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधिलाई वैशाख २७ गते दिएको लिखित निवेदन पश्चात मानवअधिकारकर्मी र संचारकर्मी सम्मिलित टोली वैशाख २९ गते घटना बारे अनुगमन गरेका थिए ।

इन्सेक महोत्तरी प्रतिनिधि तथा शिरीष न्युजका सम्पादक अजयकुमार साहको नेतृत्वमा वोरेक महोत्तरीका जिल्ला संयोजक विना सिंह, संचारकर्मी रंजन भण्डारी,धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’, दलित अधिकारकर्मी प्रकाश मोची सहितका टोलीले इप्रका गौशलाका इन्चार्ज इन्स्पेक्टर मनोज यादवलाई भेटेर घटना बारे जानकारी लिनुको साथै निश्पक्ष छानबिन तथा घटनामा संलग्न दोषी उपर कारबाहीको माग गरेका थिए ।
इन्स्पेक्टर मनोज यादवले अधिकारकर्मी संग पीडित पक्षबाट लिखित जाहेरी नआएको र जाहेरी आए आवश्यक कारबाही प्रकृया अघि बढाउने जानकारी दिए पछि सोहिअनुसार आज पीडित पक्षबाट जाहेरी दर्ता गराइएको छ। जाहेरी परी सकेपछि म्याद थप गरेर अनुसन्धान प्रकृया अघि बढाउने इन्स्पेक्टर यादवले बताए।

त्यसैगरी अनुगमन टोलीले पीडित बालक तथा निजका घरपरिवारका सदस्यहरुलाई भेटेर घटना बारे बुझ्नुको साथै न्यायको लागि अघि बढ्न हौसला प्रदान गरेका छन् ।
यस्तो थियो घटना
गौशाला नगरपालिका-१ का १६ वर्षीय अविनास पासवानलाई दलित भएर गैरदलितसँग बसेर भोज खाएको भन्दै सोहि वडाका ४० वर्षीय रामबिनेक यादवले वैशाख २६गते राती गाली बेइज्जती र कुटपिट गरेका थिए ।
गौशाला नगरपालिका-१ का सुरतन यादवले आमाकोे १३ औँ दिनको पुण्यतिथिको अवसरमा भोजको आयोजना गरेको हँुदा बालक टेन्टको काम गर्न वैशाख २६ गते गएका थिए ।
टेन्टको काम पश्चात भोक लाग्यो भनेर भोज खादै गर्दा आरोपित रामबिनेक यादवले बालक पासवानलाई “त तल्लो जातको मान्छे यहाँ किन आएको र किन भोज खाएको” भन्दै वैशाख २६ गते भोज खाने ठाउँ मै आएर गाली बेइज्जती गर्नुका साथै घर फर्किरहेको बेला राती बाटो कुटपिट गरेको आरोप छ ।

छुवाछुतको नाममा कुटपिट गरेको भन्दै आरोपित यादवविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गौशालामा वैशाख २७ गते उजुरी दिए पनि उजुरीको कुनै सुनवाइ नभएको पीडित पक्षको गुनासो रहेको हुँदा उनिहरुले अधिकारकर्मीहरुलाई न्यायको लागि पहल गरि दिनु हुन आग्रह गरेका थिए।

पीडित परिवारले यस घटनामा कुटपिट गर्ने आरोपित रामबिनेक यादवले यसअघि करिब एक वर्ष अघि अविनासकी आमालाई समेत चौतारामा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए। त्यसबेला ईलाका प्रहरी कार्यालय गौशालामा छलफल हुँदा उनलाई उपचार खर्च पाँच हजार दिएर आरोपीले उन्मुक्ति पाएका थिए।
यो पनि पढ्नुहोस्।
गौशलामा कथित ठूला जातिको भोज खाएको निहुँमा एक दलित बालक माथि कुटपिट




