जनकपुरधाम- सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका हुन् ।



उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए ।
उनले भने, ‘सरकार मुलुकमा सुशासन कायम गर्नकालागि कदमहरु उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’
अर्को प्रसंगमा बोल्दै नेपालले रेशम चौधरीको रिहाईकालागि हामी सबै लागि परेको बताए । मधेस सरकारमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको उनले बताए ।




