महोत्तरी- गौशालास्थित मरहा खोलामा नदीजन्य पदार्थ उत्खननमा जिल्ला अनुगमन समितिले रोक लगाएको छ। पौडेल निर्माण सेवा र अनिष कन्स्ट्रक्सनले नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएकोमा जिल्ला अनुगमन समितिले उत्खनन् स्थलमा कागजात फेला नपरेको र सम्झौता विपरित उत्खनन भएको देखिएपछि तत्काललाई रोकेको हो।
सम्झौता भएर उत्खनन् हुँदा पनि नगरपालिकाले तोकेको प्राविधिकको उपस्थिति हुनुपर्नेमा उत्खनन् स्थलमा प्राविधिकको उपस्थितिसमेत देखिएको थिएन। नदीजन्य पदार्थ उत्खननपश्चात नदी भण्डारण स्थलमा भण्डारण नगरिएको, आइईले तोकेको मापदण्डअनुसार उत्खनन गर्नुपर्नेमा कागजातहरु अनुगमनस्थलमा उपलब्ध नभएको लगायतका विभिन्न समस्याहरु देखिएपछि कागजात हेरेरमात्र उत्खनन् अनुमति दिने भन्दै तत्कालका लागि उत्खनन रोकिएको जिल्ला समन्वय समिति प्रमुख सुमनलाल कर्णले बताए।
यता गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले अनुगमन समितिले फोन गरेर कागजात ल्याउन भनेकोमा कागजात पठाएपनि अनुगमन टोली उत्खनन स्थलबाट फिर्ता भइसकेकाले कागजात देखाउन नसकेको बताए। उनले ईमेलमार्फत् वा प्रत्यक्ष नै जिल्ला अनुगमन समितिलाई कागजात पठाउने बताए। उत्खननमा मापदण्ड पालना भए–नभएको बारे भने आफूले बुझेर मात्र बताउन सक्ने उनको भनाइ छ।
गौशाला नगरपालिकाले अनिष कन्स्ट्रक्सन र पौडेल निर्माण सेवालाई क्रमशः ४५ हजार र ३५ हजार घनमिटरका दरले जेष्ठ मसान्तसम्मको लागि नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएको हो। अनुगमन समितिले उत्खनन् रोकेपछि आफूहरुको लगानी डुब्ने जोखिम भएको ठेक्का लिएको पक्षको चिन्ता छ।
उनीहरुले आइतवार विहानै गौशाला नगरपालिकाले कागजात जिल्ला अनुगमन समितिलाई नबुझाए नगरपालिका घेराउ गर्ने चेतावनी दिएका छन्। ठेक्का लिएका पक्षका रोशनसिंह राणाले अनाहकमै नगरपालिका र जिल्ला समन्वय समितिको लडाईँमा आफूहरु चेपिएको बताए।