राजीव साह /जनकपुरधाम
हिन्दु बहूलराष्ट्र नेपालभरि धर्मान्तरणको तिव्रता बढीरहेको छ । विसं २०६३ सालमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको थियो । धर्म निरपेक्षता घोषणा भएतापनि धार्मिक दृष्टिकोणले नेपाल हिन्दू बहूलराष्ट्र नै हो ।
नेपालमा धर्मले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। धर्म,संस्कृति र परम्पराले नेपालको पहिचानलाई दर्साउँछ । धर्म शब्द उच्चारणमा जति सामान्य शब्द लाग्न सक्छ। धर्मलाई सहि ढङ्गमा बुझ्न झनै् गाह्रो र गम्भीरतापूर्वक अध्ययन गर्न अझै गाह्रो छ। हाम्रो दैनिकी जिवनमा धर्म शव्दको प्रयोग प्रायः हुने गर्दछ। धर्मले मानवको स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र जिउने सही तरिकालाई जनाउँछ ।



नेपालमा धर्मनिरपेक्ष राज्य घोषणा लागतै अन्य धर्मावलम्बीहरूको संख्यामा तिव्र गतिले वृद्धि हुन थाल्यो । बर्तमान नेपालको संविधानमा मौलिक अधिकार अन्तर्गत धारा २६ मा धार्मिक स्वतन्त्रताको व्यवस्था गरिएको छ । तसर्थ कुनै पनि व्यक्तिले विना कुनै दबावमा स्वतन्त्रपूर्वक आफुले चाहेको धर्म धारण गर्न सक्छ। मानिसहरू विभिन्न कारणले धर्मान्तरण गर्छन्। विश्वास परिवर्तन हुनु , आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्नु र वैवाहिक रूपान्तरण जस्ता कयौँ कारणहरुले गर्दा मानिसहरू धर्मान्तरण गरिरहन्छन्।
धर्मान्तरण खासगरी विकासको स्तर वृद्धि नभएको देशहरू र विकसित देशहरूको दुर्गम क्षेत्रहरूमा, शिक्षाको स्तर कम भएको ठाउँहरूमा धर्मान्तरण गरिरहन्छन् । जसले मानिसहरूको धार्मिक दावीहरूको जाँच गर्ने क्षमतालाई बाधा पुर्याउँछ । कुनै देशको धर्मान्तरणमा सबैभन्दा महत्त्वपूर्ण कारण कल्याणको अभावले गर्दा नै हो । वास्तवमा, बेरोजगारी र रोग जस्ता कयौं उच्च स्तरको चिन्ताले मानिसहरूलाई धर्मका फाइदाहरू र परमेश्वरले तिनीहरूलाई देख्नुहुनेछ भन्ने विश्वास धर्मान्तरण गरिरहन्छन् । मिसनरीहरूले यो ढाँचालाई चिन्छन् र अविकसित वा गरिब देशहरूमा यात्रा गर्छन् । पछिल्लो समयमा नेपाल र अन्य हिन्दू बहुल्यता समाजमा धर्मान्तरण गर्ने चलन बढेको देख्न सकिन्छ । समयसँगै, संसार विकसित र परिवर्तन हुँदै जाँदा, नयाँ विश्वास, मूल्य र मनोवृत्तिले लामो समयदेखि चल्दै आएको परम्परा, चलन र अभ्यासहरू बीच तनाव सिर्जना हुन थाल्छन् । यी तनावहरूले व्यक्ति-व्यक्ति बीचको सम्बन्धलाई कमजोर बनाउँछ र नयाँ धर्महरू जन्माउँछ,अनि ती धर्महरूको विस्तारको नेतृत्व गर्छन्।
नेपाल वैदिक सनातन हिन्दू धर्मको केन्द्र, महान् ऋषि, तपस्वी, देवी-देवता र सन्तहरूको जन्मस्थल र वासस्थान भएकोले धार्मिक आस्थाको केन्द्र पनि हो । धर्मले मानवको जीवनलाई अर्थ र उद्देश्य दिन्छ, सामाजिक एकता र स्थिरतालाई बलियो बनाउँछ, मनोवैज्ञानिक र शारीरिक कल्याणलाई बढावा दिन्छ र मानिसहरूलाई सकारात्मक सामाजिक परिवर्तनको लागि काम गर्न उत्प्रेरित गर्दछ। दुर्भाग्यवश धर्म शब्दको सीमित बुझाइ र अनुसरणले यसबाट धेरै देश र जनतालाई कष्ट पुर्याइरहेको छ। नेपालमा यसको बीउ मात्र रोपिएको छ । यसबाट सिर्जना हुन सक्ने र हुने द्वन्द्वको परिकल्पना मात्र हामीले गर्न सक्छौं । नेपालको संविधानद्वारा धर्म निरपेक्षता धोषणा गरि सबै जाति र धर्मलाई सम्मान अधिकार प्रदान गरियो तर पर्दा पछाडि भएको मिसनरीहरूलाई बेवास्ता गर्ने भयो । राज्यको पहिलो दायित्व भनेको जनचाहना लाई संबोधन गर्नु हो, तर धर्म जस्तो गम्भीर मुद्दालाई सरकारले बेवास्ता गरिएको हो ।
सनातन धर्म विश्वकै सबैभन्दा प्राचीन धर्म हो । विश्व प्रसिद्ध लेखक जेफरी आर्मस्ट्रङ(कविन्द्र ऋषि)दावी गर्दैछन् “सनातन धर्मको उत्पत्ति १३००० बर्ष अघि भएको थियो भने यसका साहित्यिक कृतिहरू ईसा पूर्व ७००० बर्ष अघि रचिएको हो”। हिन्दू धर्म नेपालको सबैभन्दा ठूलो धर्म मात्र नभएर विश्वको तेस्रो ठूलो धर्म हो ।(प्यू रिसर्च सेन्टर) को तथ्याङ्कअनुसार विश्वभरी (१५- १६%) प्रतिशत हिन्दू धर्मावलम्बीहरू रहेका छन्। ।
नेपालको पहाडमा चर्चको स्थिति भयावह छ । नेपालमा बढिरहेको इसाईकरण नेपालको लागि मात्र नभएर चीन र भारतको लागि झनै ठूलो खतरा हो । नेपालमा हालसालै बि.बि.सि न्युज द्वारा गरिएको एक सर्वेक्षणका तथ्याङ्क अनुसार “वि.स २००८ मा नेपालमा क्रिश्चियनहरू थिएनन् र विसं २०१७ मा मात्र ४५८ थिए। तर विसं २०६७ सम्म, त्यहाँ लगभग ३७६,००० थिए र पछिल्लो जनगणनाले यो समुदाय अहिले लगभग ५४५,००० भएको अनुमान गरेको छ। हालको अनुमानित १.२ र १.५ मिलियन बीचमा छन्। विश्व क्रिश्चियन डाटाबेसले नेपालमा विश्वमा सबैभन्दा छिटो बढ्दो क्रिश्चियन समुदाय रहेको दाबी गरेको छ। हालसम्म नेपालमा क्रिस्चियन आस्था केन्द्र चर्चको कुल संख्या ७७५८ रहेको छ । बीबीसीको तथ्यांक सार्वजनिक भएलगत्तै आमनागरिक लगायत सांसदमा पनि नेपालको संस्कृति र सभ्यता जोगाउन हिन्दुराष्ट्र कायम हुनुपर्ने भन्दै आवाज उठ्न थालेका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले नेपाल हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डा बोकेको छन्। राप्रपाकै उपाध्यक्ष रविन्द्र मिश्र आफ्नो पुस्तक ( विचार भन्दा माथि देश ) मा लेख्नुहुन्छ ” कुनै पनि देशको धर्म र संस्कृति केवल धर्म र संस्कृतिमा मात्र सिमित हुँदैन। त्यो अप्रत्यक्ष रुपमा देशको पहिचान,स्वाभिमान र स्वाधिनतासँग पनि जोडीएको हुन्छ।
नेपाल हिन्दूत्व र वैदिक संस्कृतिको मान्यताले जोडिएको देश हो । नेपालमा कुल जनसंख्याको ८०% भन्दा माथि हिन्दु अनुयायीहरू नै हो । महान् ऋषि मुनिको आदर्शलाई हाम्रा पुर्खाले पछ्याएका हुन् । यो भूमि नै वेद भूमि, ऋषि भूमि र तपोभूमि हो। त्यसैले नेपाल विश्वको लागि ज्ञानको मुहान र वैदिक सभ्यताको केन्द्र हो। कुनै त्यस्तो वैदिक शास्त्र छैन, जसले नेपाल नबोकेको होस्। त्यसैले हिन्दू संस्कृति र सभ्यता जोगाउनमा नै न्यायोचित हुन्छ। केवल हिन्दूुको जनसंख्या नेपालमा प्रतिशतका आधारमा ठूलो छ भन्ने हिसाबले मात्र नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्नु गलत हो। हिन्दूत्वमा नै नेपालको पहिचान हो । विश्वको करोडौँ हिन्दूहरुको आस्थाको केन्द्र हो।पर्यटकीय दृष्टिकोणले पनि विश्वभरिका हिन्दूहरुले पुज्ने पवित्र स्थल हो। हिन्दू शब्दले नेपाल निर्माणको इतिहास मात्र नभएर यहाँको पहाड पर्वत, हिमाल, नदी र समथर मैदानको चिनारी बोकेको छ। हिन्दू दर्शनको मूल वा उदगम भूमि भएको कारणले अवश्य पनि यसको मौलिकता, पहिचान, अस्मिता र स्वरुपलाई उचित सम्मान दिनको लागि यस देशलाई हिन्दू सभ्यता जोगाउनुमा तर्क र न्यायको हिसाबले उचित हुन्छ भन्ने कतिपय विश्लेषकहरुको भनाई रहेको छ ।
यदि हामीले हाम्रो सबै मौलिक धर्म संस्कृतिलाई जोगाउने हो भने धर्मान्तरणलाई रोक्नुपर्छ । संविधान जारी गर्दाको समयका तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले नै नेपाल धर्मनिरपेक्ष भएको कुरा आफूलाई पत्तै नभएको बताएका थिए। यसै बाट प्रस्ट हुन्छ कि जनचाहना विपरित धर्मनिरपेक्षता लादिएको रहेछन् । आर्थिक प्रलोभन र विभिन्न सेवासुविधाको मोह देखाएर मिसनरीहरू तिव्र रुपमा धर्मान्तरण गराउदैं छन् । अन्यथा नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डता माथि ठूलो संकट आउने पक्का छ। विश्वमा अधिकांश देशहरु धर्मसापेक्ष नै छन्। अत्यन्त थोरै जनसंख्याले अवलम्बन गर्ने यहुदी धर्मको लागि एक देश छ, इजरायल। बौद्धहरुको लागि ६/७ ओटा देश छन्। मुस्लिमको लागि ५५ भन्दा धेरै देशहरु छन्। इसाईहरुका लागि झन्डै ८० भन्दा धेरै छन्। इतिहासकार विद्वान योगी नरहरिनाथ लगायत धर्म र संस्कृतिका कैयौँ ज्ञाता यसबारे लेखेका छन् । नेपालसँग हिन्दु धर्मका सबैजसो प्रमुख देवीदेवताको गहिरो सम्बन्ध छ । यसरी परापूर्वकालदेखि नै नेपाल प्राचीन धर्म, संस्कृति र सभ्यताको केन्द्र रहेको छ। हाम्रो देश असाधारण धार्मिक, संस्कृति, परम्परा, रितिरिवाज र प्राकृतिक सौन्दर्यताले परिपूर्ण छ ।यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो ।
नेपालको संविधान-२०७२ को भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा २६ मा धार्मिक स्वतन्त्रताको हक को उपधारा (३)अनुसार यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउँने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भनि उल्लेख गरिएको छ । यस्तै मुलुकी अपराध संहिता,२०७४,मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन २०७४ को परिच्छेद -९ धर्म सम्बन्धि कसूरको दफा १५८ मा धर्म परिवर्तन गराउन नहुने ,को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । (२) मा कसैले कुनै जात जाति वा सम्प्रदायमा सनातनदेखि चलि आएको धर्म मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतीले धर्म वा मत प्रचार गर्नु हुँदैन । (३) को उपदफा (१) वा (२) बामोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षमा कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (४) उपदफा (१) वा (२) बामोजिमको कसुर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको ७ दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ भनि स्पष्ट उल्लेख गरिएको छ। नेपाली कानूनले धर्म परिवर्तन गर्न निषेध गरेको भए पनि त्यस्ता क्रियाकलापलाई जरिवाना, कैद र निष्कासन (विदेशीको हकमा) गरिदिए पनि धर्म परिवर्तन भइरहेका छन् र कतिपयले यसको पक्षमा वकालत पनि गरिरहेका छन् ।
हामी मध्ये धेरैले क्रिस्चियन धर्मको विकासको पछाडि रहेका कारणहरूको परिमाणलाई बेवास्ता गर्छौं र यसलाई पश्चिमको नवऔपनिवेशिक हस्तक्षेपको रूपमा दोष दिन्छौं । यति धेरै नेपालमा किन धर्मान्तरण भइरहेछन् ? भनेर हामीले अनुसन्धान गर्नुपर्छ । केही दलितहरूले ईसाई धर्मलाई गहिरो जरा गाडिएको जाति व्यवस्थाबाट मुक्तिको रूपमा हेर्छन्। राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले ६५ प्रतिशत नेपाली इसाई दलित रहेको देखाएको छ । धर्मान्तरण गर्नुको कारण दलितहरूको माथि उनीहरूका गाउँहरूमा तथाकथित उच्च वर्गका मानिसहरूले अन्यायपूर्ण व्यवहार गरेको वा राज्यको स्वास्थ्य प्रणाली निको हुन नसकेको रहस्यमय रोग निको पार्न मद्दत गरेको कारण उनीहरूले ईसाई धर्म रोजेको दाबी गर्छन् ।
ग्लोबल मिसन नाम गरेको एक संस्थाले सन् २०३० भित्र “एक गाउँ एक चर्च” लक्ष्य सहित परियोजना चालु भैरहेको कुरा गृहमन्त्रालयको सुरक्षा निकायले नै सरकारलाई रिपोर्टिङ गरेको नयाँ पत्रिकाले भर्खरै खबर छापेको छ। त्यतिमात्र होइन, नेपालमा बिश्वको सबैभन्दा बढी धर्मान्तरण गराउन सफल भएको मुलुक भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतमा समेत पटकपटक समाचार छापेर विश्वको ध्यानाकर्षण भएको अवस्था छ। त्यतिमात्र होइन, राष्ट्रिय क्रिस्चियन महासङ्घले एउटा वक्तव्य निकाल्दै नेपालमा ३० लाखभन्दा बढी इसाई रहेको दाबी गरेको छ ।
नेपाल चेपाङ सङ्घका रवीन्द्रकुमार चेपाङले १० वर्षअघि मकवानपुर जिल्लामा करिब दुई सय चर्च भए पनि आज एक हजारभन्दा बढी रहेको बताएका छन्। यदि बढ्दो धर्मान्तरण रोकिएन भने आगामी दिनमा नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डता माथि ठूलो संकट आउने पक्का छ।
–यो लेखकको व्यक्तिगत विचार हो।लेखक कानुनका विधार्थी हुन्।





