जनकपुरधाम – नेपाली कांग्रेस मधेश प्रदेश समितिले विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई प्रदेश र जिल्ला समितिको जिम्मेवारी तोकेका छन्।
बिहीबार कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा कांग्रेस प्रवेश गरि प्रदेश सांसदसमेत जितेका जसपाका तत्कालीन मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरे।



प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस भित्रिएर उनी हाल धनुषा निर्वाचन क्षेत्र ४ को १ बाट प्रदेश सांसदमा निर्वाचित भइसकेका छन्। राजपा परित्याग गरि कांग्रेस प्रवेश गरेका कृष्णकुमार सिंह, एमालेबाट आएका डा. संजिवकुमार यादव, जसपाबाट आएका बजरंग यादवका साथै नेकपा एमालेको मधेश प्रदेश सदस्य परित्याग गरि आएका गुरुदेव यादव र फूलकुमारी महतोलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ।
उनीहरुलाई ती पदमा मनोनयन गर्न पार्टीका केन्द्रीय सह–महामन्त्री महेन्द्र यादवले सिफारिस गरेका थिए। साथै सहमहामन्त्री यादवले जसपा जिल्ला कार्यसमिति सचिव त्याग गरि आएका घनश्याम यादवलाई कांग्रेसको जिल्ला सचिव, जसपाको जिल्ला सदस्य त्याग गरि आएका डा. सत्रुधन यादव र मकेश्वर यादवलाई जिल्ला सदस्य र एमाले जिल्ला सदस्य त्यागेर आएका मुकुन्द यादवलाई जिल्ला सदस्यमै मनोनयन गर्न समेत सिफारिस गरिसकेको हो।
जिल्लामा सिफारिस गरिएकाहरुको मनोनयन भने हुन वाँकी रहेको सहमहामन्त्री यादवले बताए।




