जनकपुरधाम- शनिबार बसेको मधेश प्रदेशसभाको बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् ।
प्रदेश सरकारले बजेट ल्याएको २३औँ दिनमा बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
प्रदेश सरकारले बजेट ल्याएको मधेश सरकारका अर्थ मन्त्री सञ्जय कुमार यादवले मनोमानी ढङ्गबाट करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।
आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो।
एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तरमार्फत गरेको अनियमितताको जवाफ मुख्यमन्त्री सरोज यादवले नदिए बैठक चल्न नदिने बताए।
एमालेका प्रमुख सचेतक लखनदास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा सशर्त अनुदान किन नदिएको ?, बजेट भाषण भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड, सामाजिक विकास मन्त्रालयबाट २० करोड रकमान्तर भएको, सर्लाही जिल्लामा २२ वटा योजना राखेर करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ?, रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिशत उठाएर योजना समावेश भएको सुनेको छु, यस्तो किन ?’
उनले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।


