
जनकपुरधाम- कमीशनमा रकमान्तर गर्ने मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका मन्त्री र एक कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेका छन ।
मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद रकमान्तर गरेको उजुरीपछि अख्तियार दुरूपयोग अनुसन्धान निर्णय गरेकाे हो ।
प्रदेशका जिल्लाहरूका लागि रेडबूकमा सार्वजनिक भएको योजनाहरूको रकम नियम विपरीत गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तको अन्ततिर मन्त्री सुनिता यादव र कर्मचारी लालबाबु यादवले रकमान्तरण गरी अनियमितता गरेको उजुरी दर्ता भएपछि अख्तियारको बर्दिबास कार्यालयले अनुसन्धान अघि बढाउने निर्णय गरेको बुझिएकाे छ ।
अख्तियारको कार्यालयले उक्त उजुरी सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयलाई गत साउन १४ गते पत्राचार गरिसकेकाे छ ।
गत आर्थिक वर्षको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रम पर्यटन विकासबाट सञ्चालन गर्ने भनिएको करिब ४२ करोड बराबरको योजना संशाेधन गरी मन्त्री यादवले विभिन्न शीर्षकका २६३ वटा नयां योजना कमीशनको आधारमा नियमविपरीत विनियोजन गरी रकमान्तर गराएको आरोप छ ।
रेडबुकमा सार्वजनिक गरिएको योजनाहरूको संशोधनका पुनः रकमान्तर गर्ने अधिकार नहुँदा पनि मापदण्ड विपरित आर्थिक वर्ष मसान्तको अन्ततिर उनले रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै मन्त्री यादव र सहायक वन अधिकृत लालबाबु यादवविरूद्ध उजुरी दिइएको थियो ।
योजनाको पुनः बाँडफाँड गरिएको भनी रकमान्तर गरिएको अधिकृत यादवले टिप्पणी उठाएका थिए । मन्त्री यादवमाथि रकमान्तर गरिएको सबै योजना १० प्रतिशत कमीशनमा वितरण गरिएको आरोप अख्तियारमा दिइएको उजुरीमा उल्लेख रहेको बुझिएको छ ।