काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तानसहित स्टार खेलाडीले भरिएको नेपाल आर्मीलाई स्तब्ध बनाउँदै मधेस प्रदेशले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा मधेसले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको हो।
मधेसले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले पूरै ओभर खेलेर ७ विकेट क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।
स्टार खेलाडीले भरिएको आर्मीको ब्याटिङ मधेसको बलिङ अगाडि चल्न सकेन। आर्मीका सुरुआती ११ मध्ये १० खेलाडीले राष्ट्रिय टिमबाट अनुभव बटुलिसकेका छन्।

१६ रनको योगदान गरेका सन्तोष कार्कीबाहेक अन्य १० खेलाडीले नेपालका लागि खेलिसकेका छन्। तर मधेसशका अधिकांश खेलाडी भने नयाँ थिए ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२ र भीम सार्कीले २२ रन बनाए । राष्ट्रिय टोलीमा विष्फोटक ब्याटिङ गर्ने कुशल मल्ल डगआउट भए। राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल ५ रनमै पेभेलियन फर्किए ।
मधेसको लागि कप्तान हरिशंकर शाहले ४ विकेट लिए। प्रदिप पासावानले २ तथा प्रथिक यादवले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १३५ रन बनाएको थियो।
मधेसको लागि विशाल पटेल ४९ रनमा अविजित रहे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान शाहले २७ रन जोडे। आर्मीको लागि शाहब आलम र विवेक यादवले ३–३ विकेट लिए ।
मधेसमा यसअघि राष्ट्रिय टोलीबाट खेलिसकेका कप्तान हरिशंकर शाह, अनिलकुमार साह र पवन सर्राफ मात्रै थिए ।
यससँगै प्रतियोगिताको च्याम्पियन टोली मधेस प्रदेशले पाँच लाख रुपैँया शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले दुई लाख ५० हजार रुपैँया, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ।


