जनकपुरधाम - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालिन भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका अधिकृत तथा हाल मन्त्रालयका शाखा अधिकृत भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले दावी गरेको छ ।
भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४÷०४÷२६ देखि मिति ०७९÷०२÷३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।