
महोत्तरी- विद्यार्थी र विद्यालयमा अनिवार्य रुपमा मनाइने सरस्वती पूजा नजिकिंदै गर्दा मुर्ति बनाउने कालिगढहरुलाई भ्याइ नभ्याइ भएको छ।
वसन्त पञ्चमीको दिन विद्यार्थीहरुले मनाउने सरस्वती पूजालाई मध्यनजर गर्दै यति बेला मधेस प्रदेशका कालिगढहरु सरस्वतीमाताको प्रतिमा बनाउन व्यस्त देखिन्छन् ।
वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगढलाई सरस्वती माताको मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले महोतरीको औरही नगरपालिकाका २ फुलवरियाका ५८ वर्षीय मूर्तिकार दिनेश राम मूर्ति बनाउन व्यस्त भएका छन्।
विगत ६ दशक देखि मुर्ति बनाउने काम गर्दै आएका मूर्तिकार रामले विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी भएकाले मूर्ति बनाउन व्यस्त रहेका बताए ।
मूर्तिको आकार हेरेर मूल्य तोकिने भए पनि एउटा मूर्तिलाई रू दुई हजारदेखि रू १४ हजारसम्ममा विक्री गर्ने गरेको अर्का मुर्तिकार फुलवरियाका कैलास रामले बताए ।
गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजा लगायत पर्वमा मूर्ति बेचेर करिब रू तीन लाखसम्म आम्दानी हुने उनले जानकारी दिए ।
“विशेष समयमा मूर्तिको माग बढी आउने भएकाले घरपरिवारका सबै सदस्य काममा लाग्ने गर्दछन्”, मूर्तिकार दिनेश रामले भने । उनका अनुसार सरस्वती पूजाका लागि यसअघिका वर्षभन्दा यस वर्ष बढी माग आएको छ । उनले वार्षिक रू तीन लाखसम्म आम्दानी हुने गरेको बताए ।
खासगरी कुमाल जातिको पुर्ख्यौली पेसा भए पनि पछिल्लो समय अन्य समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका स्थानीय जीवछ महतोले बताए । उनका अनुसार अधिकांश निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाका लागि मूर्ति बनाउन दुई महिना अघिदेखि मुर्तिकार लाई अर्डर दिने गरेका छन् ।
विद्यालय बाहिर टोलबस्तीमा गरिने पूजाको लागि भने पूजाको एकदिन अगाडि बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामर्थ्य अनुसार सरस्वतीको मूर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयवासी सरोज सिंहले बताए ।
माटो, काठ तथा परालको प्रयोगबाट बनाइने मूर्ति राम्रोसँग घाम लागेको अवस्थामा पूर्ण रुपमा सुक्न र निर्माण सम्पन्न हुनका लागि ७ देखि १० दिनसम्म लाग्ने गर्दछ । समय परिस्थिति र मूर्ति बनाउने काम प्रति नयाँ पुस्ताको घट्दै गएको रुचिका कारण पुर्ख्यौली पेशा लोप हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले उनीहरुको शीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने आवश्यक्ता देखिएको छ। तर आफु यस पेसाबाट आफु सन्तुष्ट रहेको भन्दै यसबाटै सहज रुपमा जीविकोपार्जन भइरहेको मुर्तिकारहरुको भनाइ छ।