जनकपुरधाम- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।
सोमवार महोत्तरीमा आयोजित एमाले पार्टीको जिल्ला अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले सो कुरा बताउँदै आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको बताए ।
अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर सरकारले कुरा गर्न नसकेको बताए ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै दुःख पाउने टिप्पणी गरे । उनले भने, ‘यो सरकार जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरुसँग भेटदा पनि आँखा जुधाएर कुरा गर्न सकेन ।’
’कुनै विचार मिलेको गठबन्धन नभएर स्वार्थहरू जोडेर बनाएको गठबन्धनको सरकार आपसमा टकराएर आगोको झिल्कोहरू निस्किरहेको छ,’ ओलीले भने,‘स्वार्थले जोडेर बनाएको गठबन्धन सरकारले मुलुक र जनताका लागि केही गर्न सकेको छैन ।’ सरकार निकम्मा, भ्रष्ट र तस्करीको गठबन्धन बनेको उनले टिप्पणी गरे ।

आफूहरु मिसन २०८४ पछि दिगो ढंगले राजनीति गर्न चाहेको उनले बताए ।
“बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ” अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी गरे ।
उनले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताउँदै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताए ।
नेताहरूले प्रहरी मेरै अधीनमा हुनुपर्छ भन्नु गलत रहेको र यसले विकृति सिर्जना गर्ने उनको भनाइ थियो ।
ओलीले प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरे । “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उनले भने । जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उनको भनाइ थियो ।
नेकपा एमालेको सरकार रहेको बेला सञ्चालनमा ल्याइएका सबै योजना तथा कार्यक्रमहरू वर्तमान सरकारले अधुरो र अपुरो छाडेको ओलीले आरोप लगाए । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले गठबन्धनको सरकारले मुलुकमा भ्रष्टाचार र तस्करी बढाएको आरोप लगाए ।

गठबन्धनको सरकारले जनतालाई अनादर गरेको आरोप लगाए । एमाले सचिव सचिव योगेश भट्टराईले सुनकाण्ड, बालुवाटार काण्डलगायतका अनेकौं काण्डमा गठबन्धनकै नेताहरूको संलग्नता रहेका कारण सरकारले छानबिन मेत प्रभावित पारेर देशलाई बर्बाद पारेको आरोप लगाए ।

उनले संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै उनले सङ्क्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे ।
अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिरमा पुगी पुजा अर्चना समेत गरेका छन् ।




