महोत्तरी- महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा उखु खेतमा आगलागी हुँदा ६ बिघा ७ कठ्ठा क्षेत्रफलको उखु पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय १० जनाको स्वामित्वमा रहेको उखु खेतमा आगलागी भएको हो। आगलागीबाट रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायत कृषकको उखु खेत जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज, गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए।

उनका अनुसार आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सके दुई प्रतिशत मात्रै कट्टा हुने व्यवस्था छ। सो समयभित्र क्रसिङ हुन नसके उखु प्रयोगशालामा परीक्षणका लागि पठाइने र ल्याबको प्रतिवेदनअनुसार कट्टा हुने उनले बताए।

सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाबाट खटिएका वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागी भएको उखु आफूहरू काट्ने तयारीमै रहेको पीडित कृषक हरिनारायण यादवले जानकारी दिए।









