काठमाडौं । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ। जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए।



लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ। सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ। विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जादै गर्दा प्रहरीले पक्राउ गरेको छ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीरको भाग क्षत्विक्षत् भएको छ भने पूर्णरूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ।





