सुनिता बराल,महोत्तरी – बर्दिवास बजारबाट करिब ३० किलोमिटर उत्तरतर्फको पहाडी विकट क्षेत्र ढुङ्ग्रे बरडाँडा पुग्ने जोकोहीलाई स्थानीयहरू बाटो बनाइदिन अनुरोध गर्छन् । विकट ठाउँमा बसेकै कारण परिवारका दुई सदस्य गुमाएकी स्थानीय सुकुमाया ब्लोन परिवारको वियोगान्त भक्कानिंदै सुनाउँछिन् । गाउँमा आउजाउ गर्न खोलाको बाटो हिँड्नु पर्छ ।
सात वर्षअघि ५ वर्षको नाति मानवलाई खोलाले बगाएको सुकुमायाले सुनाइन् । नातिको मृत्युले भयभीत सुकुमायाको परिवारमा २ वर्षपछि अर्को दुःखद घटना भयो । वर्षाको समय, पानी परिरहेका बेला सुत्केरी बेथाले छट्पटिएकी बुहारीलाई झोलुंगोमा बोकेर अस्पताल पुर्याइदिने मान्छे नभएपछि मुस्किलले माइली बुहारीको ज्यान बच्यो तर गर्भको शिशु बचाउन नसकेको सुकुमायाले सुनाइन् ।




सुकुमायाको परिवारमा मात्रै हैन, सिंगो बरडाँडा गाउँमा पुग्ने सहज र वैकल्पिक बाटो नहुँदा स्थानीय एक सय परिवार विभिन्न समस्या भोग्दै आएका छन् । अरू बेला दुःखसुखले हिँडे पनि बर्खामा जति नै समस्या परे पनि गाउँबाट कहींकतै जान नसकिने स्थानीय बताउँछन् । एकातर्फबाट मडाह खोला र अर्कोतर्फबाट ढुङ्ग्रे खोलाको बीचमा पर्ने ढुङ्ग्रे बरडाँडा गाउँबाट खोलाकै बाटो करिब ३ घण्टा हिँडेपछि टुटेश्वर गाउँ निस्कन सकिने स्थानीय कर्णबहादुर घलानले बताए । अन्यत्रबाट बसाइ सरी टुटेश्वर पुगेका आफ्ना बाबुबाजे गाईबस्तु मर्न थालेपछि गोठ सार्ने क्रममा ढुङ्ग्रे पुगेको र २०२१ सालमा ढालफाँड गरी गढन्तामा बस्ती बसेको घलानले सुनाए ।

भौगोलिक विकटताका कारण बस्तीका बालबालिका र वृद्धवृद्धालाई बढी सास्ती हुने गरेको छ । गाउँमा गोरेटो बाटो समेत राम्रो नहुँदा विद्यालय जाने बालबालिका लहरा र पहराका ढुंगा समाउँदै विद्यालय पुग्ने गरेको स्थानीय लिलामाया तामाङले बताइन् । ढुङ्ग्रे बरडाँडामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अहिले १ सय ६ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक विकटताका कारण धेरै बालबालिका विद्यालयबाहिर रहेको र भर्ना भएका विद्यार्थीलाई पनि नियमित कक्षामा ल्याउन सक्ने अवस्था नरहेको प्रधानाध्यापक विल्टु यादवले बताए ।
बालविकास कक्षादेखि ८ सम्म अध्ययन हुने विद्यालयमा अचेल दैनिक ३ घण्टासम्म हिँडेर ७५ देखि ८० जना विद्यार्थी उपस्थित हुने गरे पनि बर्खामा २५ प्रतिशत विद्यार्थी पनि विद्यालय पुग्न नसक्ने प्रअ यादव बताउँछन् । कपडाको झोलुंगोमा बोकेर अस्पताल लैजानुपर्ने भएकाले कतिपय बिरामीलाई बोक्ने मान्छे नहुँदा र बाटो बन्द हुँदा गाउँमा केही दुःखद घटनासमेत भएको स्थानीय कर्ण घलानले सुनाए । ‘गाउँमा रहेको १ सय ४ भोट माग्न नेताहरू पुग्छन्,’ स्थानीय कर्ण घलानले भने, ‘तर हाम्रा समस्या कसैले देख्दैनन् ।’ खोलामा झोलुंगे पुल जडान गरिदिए र जंगल हुँदै गाउँसम्म निस्कने वैकल्पिक बाटो खोलिदिए स्थानीयको उद्धार हुने उनले बताए ।

जसलाई सुनाए पनि लामो समयदेखि आफूहरूका माग सुनुवाइ नगर्दा बरडाँडाको समस्या उस्तै रहेको र स्थानीय उत्पादनले समेत बजार पाउन नसकेको सुकुमायाले बताइन् । गाउँमा गर्भवती, बिरामी, बालबच्चा र वृद्धवृद्धालाई निकै समस्या रहेको उनले बताइन् । आफ्नो परिवारमा भएको घटनापछि गाउँका गर्भवती छोरीबुहारीलाई दुई महिना पहिले नै अस्पतालनजिक हुने ठाउँमा गएर बस्न आफूले अनुरोध गर्ने गरेको उनले सुनाइन् । गाउँमा उत्पादन हुने अदुवा, खुर्सानी, तरकारी, खसी–कुखुरालगायत बिक्रीका लागि बजार र बाटो नहुँदा गाउँमा आया आर्जनको माध्यम पनि रोकिएको उनले बताइन् । बरडाँडामा बाटोसँगै खानेपानीको समस्या पनि उस्तै छ ।
बर्दिवास–५ को सबैभन्दा विकट क्षेत्र भएकाले स्थानीय बजेटले मात्रै माग सम्बोधन गर्न नसकिएको वडाध्यक्ष काहारमान स्याङ्बाले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बरडाँडा लक्षित गरी वैकल्पिक बाटो खन्ने काम भए पनि गाउँलाई जोड्न पुल आवश्यक रहेकाले पहल भइरहेको उनले बताए ।-कान्तिपुर




