धनुषा।
“कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र !!!”
( कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन ताल म)
वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ।
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरु बिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद किशोरी साह बताउँछन्। उनले भने, ‘होली पर्व र संगीत बिच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।’

क्षीरेश्वरनाथ नगरपालिका – ५ महेन्द्रनगर बस्ने ७० वर्षीय बेचन विराजले पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भन्नुहुन्छ, ‘पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागुगीत नै गाइन्छ ।’
‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका उदास हुँदै वृद्ध महेन्द्रनगर कै ७२ वर्षीय पचकौरी साह भन्नुहुन्छ। साहले भन्नुभयो, ‘मेरा समूहका धेरै साथीको मृत्यु भईसक्योे, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन्।’
वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि धनुषा सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!!
जोगिरा..सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्।
होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन्।
सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्मसंस्कृति प्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गर्नुभयो ।
ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाता बीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन।
मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाउन थालिने परम्परा छ।
जनकपुरधाम १२ का सतीश लाल कर्ण भन्नुहुन्छ, ‘होली गीतमा पहिले कामोत्सवको मर्म ,धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।’
दोहोरी गीत झै गाइने जोगिरा र होलीका गीतका कारण तराई मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रोनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामिण क्षेत्रमा कुनै कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाईन्छ।
धनुषाका पूर्व जिल्ला समन्वय समितिका सभापति समेत रहेका ७५ वर्षीय रामदेव यादव बनरैत भन्नुहुन्छ, ‘होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झै–झगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।’
पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गरेको सखुवाबजारका सत्यनाराण साह बताउँछन् । अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि अरब कतार खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिकाका पर्वताका ६५ वर्षीय जयकिशोर कर्ण भन्नुहुन्छ, ‘अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।’
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ ।
फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको मिथिला नगरपालिकाका रामखेलावन महतोको भनाइ छ ।
मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ ।
पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको कापडीको भनाईरहेको छ।
गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ ।
वसन्त ऋतुको आगमनसंँगसंँगै वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने संस्कृतिविद् रमापति चौधरी बताउँछन् । होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो ।
तराई मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केहि वर्ष देखि जनकपुरधाम स्थित मिथिला नाट्य कला परिषद (मिनाप)ले गाउँ गाउँबाट होलियाहरुलाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ।
यस्तो छ होलीको पौराणिक कथा
पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने चलन रहिआएको भनाइ छ ।रासस


