मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो ।
मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए ।प्रतिपक्षी दलहरु कांग्रेस, जनमत र लोसपाका सांसदले बहिस्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।
मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक जनमत पार्टीले गत ८ माघमा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा तत्कालीन शिक्षामन्त्री महेशप्रसाद यादवमाथि भएको आक्रमणको घटनाको छानबिन गर्न समिति गठनको माग गरेर अवरोध गर्यो ।जनमतको अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर दलहरुबीच छलफल गराएका थिए । तर छानबिन समिति गठनमा सहमति हुन नसकेपछि साँझ बसेको अर्को बैठक पनि जनमतले अवरोध गर्यो ।
तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिङ गरेका थिए । उनीसहित जनमतका सांसद निस्केपछि कांग्रेस र लोसपाका सांसद पनि बाहिर निस्केका थिए । त्यसपछि सभामुखले मत विभाजन गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए ।





