जनकपुरधाम- धनुषाका पत्रकार विनय कुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु घटना शंकास्पद बनेको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ बस्ने रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक २८ वर्षीय विनयको गत वैशाख ११ गते बिहान मृत्यु भएको थियो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन विनयले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको बताएका थिए । मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेक ३० वर्षीय ललन भन्ने लक्ष्मी नारायण यादव समान्य घाएते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनु भन्दा केही परको सिसीटिभी फुटेज फेला परेको छ ।



दुर्घटना भए अनुसार लक्ष्मीनारायणलाई समान्य चोटपटक तथा मोटरसाइकलमा समेत खासै क्षति नभएको कारण मृतक परिवारले घटना शंकास्पद रहेको दावी गर्दै आएको छ । प्रहरीले समान्य घाइते लक्ष्मीनारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
डिएसपी अवाका अनुसार सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको भन्दै आएपनि पछिल्लो समय बयान फेरेका छन् । ‘सुरुमा त लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए । अहिले उनले बयान फेरेर आफू मोटरसाइकल चलाइरहेको बयान दिइरहेका छन्’ डिएसपी अवाले भने ।
यधपी डिएसपी अवाले मृतक यादवको पोस्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृतिले अहिलेसम्म मोटरसाइकल दुर्घटनाकै कारण मृत्यु भएको तर्क गरे ।
होटेलबाट घर फर्किरहेको बेला जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका ६ स्थित ढल्केवरचोकबाट करिब एक किलोमिटर दक्षिण बिहान ३ बजेर ५० मिनेटमा मोटरसाइकल दुर्घटना भएको थियो । गम्भीर घाइते पत्रकार विनयको उपचारको क्रममा प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो । परिवारजनका अनुसार पत्रकार विनय साथीहरुसित धनुषा लालगढकै होटेल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर राति लक्ष्मीनारायणसित फर्किरहेका थिए ।
मृत्यु अघि ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा शान्तिसुरक्षाको माग
मृतक विनयले केहीदिन अघि एकजनलो आफूसहित केही साथीलाई मारिदिने धम्की दिएकोविरुद्ध निवेदन इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएका थिए । उनले धम्की दिनेलाई कारबाहीको साथै शान्ति सुरक्षाको माग समेत गर्दै चैत २८ गते निवेदन दिएको खुलेको छ ।
निवेदनमा विनयले आफूसहित अहिले प्रहरी हिरासतमा रहेका लक्ष्मीनारायण, रामपुकार यादव र विशेश्वर मण्डललाई स्थानीय २७ वर्षीय विरेन्द्र कुमार यादवले गालीबेज्जती गर्दै जिपले ठक्कर हानेर मारिदिने धम्की दिएकाले उनलाई कारबाहीको माग गरिएको निवेदनमा उल्लेख छ ।
मृतक विनयका भाई शंकर यादवले त्यस बेला इलाका प्रहरी कार्यालय धनुषाधामले निवेदन दर्ता गरेन । प्रहरी निरीक्षक किरण लामाले विनयले निवेदन दिएको स्वीकारे । ‘विनयजीले निवेदन दिनु भएको थियो । दोश्रो पक्षबाट निवेदन परेपछि दुवै निवेदन दर्ता भएन । पछि विनयजीले आफै त्यो निवेदनमा केही नगर्नुपर्ने, कुरा मिलिसक्यो भन्नुभयो’ प्रहरी निरीक्षक लामाले भने ।
यता मृतकका भाई शंकरका अनुसार निवेदनमा पीडित उल्लेख लक्ष्मीनारायणले पछि विरेन्द्रले केही गर्दैन भनेर अघि नबढ्न भनेपछि विनय पछाडि हटेका थिए । ‘लक्ष्मीनारायणको नाम पनि संयुक्त निवेदनमा थियो । लक्ष्मीनारायणले दोश्रो पक्षसँग मिलेर अब दर्ता गर्नु पर्दैन भनेपछि विनय दाई पछि हट्नु भयो’ शंकरले भने ‘दुर्घटना विषयमा फेरेको बयान र अन्य तथ्य प्रमाणले लक्ष्मीनारायणको भूमिक शंकास्पद र षड्यन्त्रपूर्ण देखिन्छ’
दुर्घटनापछि लक्ष्मीनारायणले धम्कीदिने पक्षलाई गरेका थिए फोन
दुर्घटना स्थलमा आफू बेहोस भएको लक्ष्मीनारायणले प्रहरी र मृतक आफन्त समक्ष बयान दिएका थिए । तर, उनै लक्ष्मीनारायणले ज्यान मार्ने धम्की दिएका भनिएका दोश्रो पक्ष विरेन्द्र यादवका भाई धिरेन्द्र यादवलाई दुर्घटनास्थलबाटै तीनपटक फोन प्रयास गरेको खुलेको छ । ४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले धिरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको हो ।
विनयसंगै प्रादेशिक अस्पतालमा भर्ना भएका लक्ष्मीनारायणसित प्रहरीले मोवाइल नियन्त्रणमा लिएको थियो । यो कल हिस्ट्रट्री र दुर्घटनामा फेरेको बयानले शंका थप बढाएको छ। विरेन्द्र जसत्तै भाइ धिरेन्द्रले पनि विनयलाई ज्यान मार्ने धाकधम्की दिने गरेको परिवारजनले बताएको छ । यस कारण घटनास्थलबाट धिरेन्द्रलाई लक्ष्मीनारायणले किन फोन गर्यो भन्ने ठूलो शंकाको विषय बनेको छ ।
खाजा खाएको होटेलको सिसिटीभी फुटेज र पठाएको म्यासेज पनि शंकास्पद
विनय दिउँसै लक्ष्मीनारायाणसहितका साथीसित बाहिर निस्केका थिए । साँझ ढल्केवरको एक होटेलमा खाजा खाएर लालगढको मंगेश होटेलमा खाजाखान पुगे । त्यहाँ लामोसमय बसेका थिए । त्यस होटेलमा राति साथीहरुसंगको सिसीटिभी फुटेजमा देखिएको हाउभाउ र घरमा भाउजूलाई पठाएको आउन नदिएको संदेशले पनि घटना शंकास्पद रहेको भाई शंकरको भनाइ छ।
विनयले साथीहरुले आफूलाई घर आउन नदिँदा ढिलो भएको भन्ने श्रीमती रुविना यादवलाई फेसबुक म्यासेन्जरमा राति १२ बजेर ३२ मिनेटमा भ्वाइस म्यासेज गरेका थिए । श्रीमतीले पटक पटक घर आउन फोन गर्दा विनयले भ्वाईस मेसेजमा मैथिलीमा भनेका थिए“तपाई सुतिहाल्नु यहाँ गुलाब छ, ललन छ, धामी छ, लक्ष्मण छ, ईन्जिनीयरहरु छ, ड्रार्इ भरहरु छ । खाना प्याक गरेर राखेको छु, यीनीहरुले आउन दिएको छैन । हेर्नु न, आउन मिल्छ भने म आउँछु, तर पक्का आउँछु नै ।”
परिवारजनका अनुसार विनयको मृत्यु अघि र पछि लक्ष्मीनारायाणले विरेन्द्र, उनका भाई धिरेन्द्र संगको सम्बन्ध, फोनमा भएको कल हिस्ट्रीले घटना शंकास्पद बनेको छ । ‘घटना अघि र पछि लक्ष्मीनारायणको धम्की दिएकासंगको सम्बन्ध, दुर्घटना स्थलबाट धिरेन्द्रलाई कुरा गर्न खोजेको फोन हिस्ट्री, दुर्घटनामा लक्ष्मीनारायणले फेरेको बयानले शंका गर्ने प्रयाप्त आधारहरु छन् । नियोजित रुपमा विनय दाईको हत्या नै भएको हाम्रो शंका छ । सुक्ष्म अनुसन्धान हुनुपर्छ’ भाई शंकरले भने ।
धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।
‘अनुसन्धानको विषयमा धेरै कुरा भन्न मिल्दैन । लक्ष्मीनारायण हिरासतमै छन् । हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’ एसपी तिवारीले भने ।
यता प्रेस युनियन धनुषाले सामेबार एक विज्ञप्ती जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना संकास्पद रहेकाले सुक्ष्मरुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पत्रकार यादवको मृत्यू घटना अध्ययन गर्न ४ सदस्यीय टोली गठनः महासचिव पुरी
ईन्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक एवम् रेडियो धनुषाधामका सँचालक समेत रहेका पत्रकार विनय कुमार यादवको शंकास्पद मृत्यू प्रकरणमा पत्रकार महासंघ केन्द्रीय समितिले ४ सदस्यीय टोली बनाएको छ ।
पत्रकार यादवको मृत्यूको घटना शंकास्पद रहेको बताउँदै पत्रकार महासँघ केन्द्रीय समितिका महासचिव रोशन पुरीले ४ सदस्यीय टोली गठन गरिएको जानकारी दिएका छन् । विहिवार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले घटना प्रति चासो व्यक्त गर्दै गम्भिरता पुर्वक छलफल मात्र गरेन केन्द्रिय सचिव दिपेन्द्र चौहानको नेतृत्वमा मधेशवाट प्रतिनिधित्व गर्ने चार केन्द्रिय सदस्य सहितको टोली नै बनाएर घटना बारे अध्यन्न गर्ने निर्णय गरेको हो ।
केन्द्रिय समिति बैठकले गम्भिर रुपमा लिएको र टोली बनाएर अध्यन्न गर्दै स्थानिय प्रहरी प्रशासनलाई गम्भिर रुपमा अनुसन्धानका लागि दबाब दिने तयारी गरेको हो, केन्द्रिय सदस्य रिंकु मिश्र गायत्रीले बताइन् । महासंघ केन्द्रिय समितिले पछिल्लो समय सञ्चार माध्यमहरुमा आएको समाचार र तथ्यले घटना रहस्यपुर्ण रहेको ठहर समेत गरेको केन्द्रिय महासचिव पुरीले बताए ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघा निवासी मृतक पत्रकार विनयको घटनामा केन्द्रिय समिति उत्सुकता र चासो देखाएपनि महासंघ धनुषा शाखा मौन रहेको भन्दै स्थानिय पत्रकार असन्तुष्टि जाहेर गर्न थालेको छ । घटनाको दिन पत्रकार यादवको दुर्घटनामा मृत्यू भएको आशयको विज्ञप्ती जारी गरेर धनुषा शाखा मौन भई बस्नु दुःखद रहेको उनीहरुको गुनासो छ ।
महासंघको केन्द्रिय समितिको सोहि बैठकबाट महासंघको तिनै तहको नयाँ नेतृत्व चयनका लागि अगामि जेष्ठ १९ गते निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।




