जनकपुरधाम - महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर र उपमेयर समेत भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको हुँदा वडा अध्यक्षलाई कार्यवाहक मेयर र उपमेयरको लागि चयन गरेको छ ।
नगरपालिकाले वडा नं. ९ का वडा अध्यक्ष रवीन्द्र यादवलाई मेयर र वडा नं. ३ का अध्यक्ष रत्तन चौधरीलाई उपमेयरमा चयन गरेको हो ।
बुधवार जलेश्वर नगरपालिकाको कार्यपालिका सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए ।
वैशाख २७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाको मेयर सुरेशप्रसाद साह र उपमेयर रौशन खातुन लगायत १२ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सो पद रिक्त रहँदै आएको थियो ।
हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ.ब. २०७९-०८० मा सञ्चालित जलेश्वर नगरपालिका वडा नं. १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटाैं धिरेन्द्र झा , जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सब–इन्जिनियर दीपेशकुमार साहले, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा पाँच लाख ८४ हजार ६३७ रुपियाँ बढी रकम भुक्तानी गरेपछि आयोगले मुद्दा दर्ता गरेको थियो ।