महोत्तरी- केहि दिन अघि गौशालामा एक युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् । पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंह माथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । गोली प्रहारबाट महतो घाइते भएका थिए।घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

घटनापश्चात आरोपित दुवैजनाले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ । दुबैजना १. प्र.२-००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

जेलबाट छुटेर फेरि अपराधकै बाटोमा
प्रहरीका अनुसार पक्राउ २ जना पटके अभियुक्त हुन् । विभिन्न मुद्दामा जेल परेका उनीहरु ०७९ मा कैद भुक्तानपश्चात रिहा भएका थिए ।डीएसपी सन्तुलाल जयसवारका अनुसार शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० बर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको थियो ।

सुनिल भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए ।महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेल पक्राउ परेका दुवैजना पेशेवर अपराधी रहेको खुलेको बताए । शशीशंकर र आशिष सहित लुटपाटका विभिन्न अपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य ३ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।




