
जनकपुरधाम - मधेस प्रदेश सरकारको मन्त्री परिषद आज विस्तार भएको छ। सरकारमा नेपाली कांग्रेसबाट चार र लोसपाबाट एक मन्त्रीको पद तथा गोपनियताको शपथ विहिवार साँझ जनकपुरधाम स्थित प्रदेश प्रमुख कार्यालयमा सम्पन्न भएको छ ।

नव गठित मन्त्रीपरिषदमा काँग्रेसबाट जनार्दनसिँह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालरानी शर्मा तिवारी शिक्षा तथा सँस्कृति मन्त्रीका रूपमा शपथग्रहण गरेका छन्।

लोसपा नेपालले दुई मन्त्रालयको माग गरिरहेको थियो । तर, मुख्यमन्त्री सतिशकुमार सिँहले तत्काल एउटा मन्त्रालय लिएर पछि थप कुराकानी गर्ने भन्दै लोसपा नेपाललाई सरकारमा सहभागी भएको लोसपाका प्रमुख सचेतक समेत रहेकी नव नियुक्त शिक्षा तथा सँस्कृति मन्त्री तिवारीले बताइन् ।

यस अघि शिक्षा तथा सँस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बिनाविभागीय मन्त्री मो. सकिल मियालाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
कांग्रेसले एक साताअघि नै मन्त्रीको नाम टुंगो लगाएको थियो । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । कांग्रेसले अर्थ मन्त्रालय नपाउने देखेपछि मधेश सरकारलाई दिएको समर्थन फिर्ताको तयारी थालेको थियो । बिहीबार प्रदेश पार्टी कार्यालय जनकपुरमा संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठक बसिरहेकै बेला अर्थसहित ४ मन्त्रालय कांग्रेसलाई दिन जनमत सहमत भएको थियो ।
सरकार विस्तार र मन्त्रालय बाँड्ने विषयमा जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धन दलका नेताहरुसँग बिहीबार छलफल गरेका थिए । मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी भएको छ । गठबन्धनमा रहेको लोसपाले २ मन्त्रालयको अडान राखेको थियो ।