महोत्तरी – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा सुर्यनरायण साहले अध्यक्ष पदमा दावी गर्ने भएका छन् । अनेरास्ववियू क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष रहेका साहले अध्यक्ष पदको दावि गरेका छन् । माओवादी केन्द्रका नेता मातृका यादव निकट मानिने साहले अध्यक्ष पदमा दावि गर्ने बताएका छन् । अनेरास्ववियू क्रान्तिकारीमा मधेशबाट पहिलो पटक साहले अध्यक्ष पदको लागि दावी गरेको हो ।
विद्यालय तहबाटै अनेरास्ववियूको राजनीतिमा लागेका साह २०५८ मा जिल्ल कमिटि सदस्य, २०६२÷६३ मा जिल्ला अध्यक्ष, १९ औ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य, २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिव र २२ औं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भएका साह काठमाडौंको किर्तिपुरमा असोज १० देखि १४ सम्म सम्पन्न हुने २३ औ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा दावी गर्ने बताए ।



क्रान्तिकारीमा अहिले अध्यक्षको चर्चामा झण्डै एक दर्जन नेताहरुको नाम छ । संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी समेत निर्वाचित गर्नेछ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने तयारी रहेको छ ।





