जनकपुरधाम- देशका अधिकांश भागमा असोज १० गतेदेखि परेको अविरल वर्षापछि बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएको छ। विपत्तिले मानिस सहित कृषि बाली, पशुपन्छी तथा मत्स्यपालनसँगै खेतीयोग्य जमिन र कृषि पूर्वाधारमा पनि नराम्ररी क्षति पुर्याएको छ।
अन्न भण्डार क्षेत्रको रुपमा चिनिने मधेस अबिरल बर्षापछि आएको बाढीका कारण खेतहरुमा लहलहाई रहेको धानमा ठूलो क्षति पुर्याएको छ । त्यसैगरी मत्स्य पालनकालागि समेत चिनिने मधेसमा मत्स्य पालनमा समेत बाढीको पानीले करोडौको क्षति पुर्याएको छ ।



कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मनसुनजन्य विपद्बाट सिर्जित परिस्थितिका सन्दर्भमा छलफल गरी छिटोभन्दा छिटो कृषि क्षेत्रको क्षति पत्ता लगाएर आगामी रणनीति बनाउन कर्मचारीलाई निर्देशन दिएपछि सातै प्रदेशबाट क्षतिको विवरण माग्ने कामले तीव्रता पाउँदा अहिले प्रारम्भिक क्षति विवरण तयार पारिएको छ।
मंगलवारसम्मको प्रारम्भिक विवरण अनुसार विपद्बाट धानबालीमा ठूलो क्षति भएको मन्त्रालयका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविद् महानन्द जोशीले जानकारी दिनुभयो । कृषि अर्थविद जोशीका अनुसार मधेश प्रदेशको धानखेती तहसनहस भएको छ। मधेस प्रदेशका आठ वटै जिल्लाहरु (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा,) धानबाली नष्ट भएको छ।
मधेस प्रदेशको कृषि विकास निर्देशनालयले बर्षाले मधेस प्रदेशमा कृषि क्षेत्रमा ५ अर्ब ३३ करोड ७५ लाख रुपैंयाको क्षति पुर्याएको प्रारम्भिक विवरणमा जनाएको छ ।
प्रदेशको आठवटै जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ४२ हजार ६९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पर्दा ५ अर्ब ४ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
यस्तैगरी ४ हजार ३९३ हेक्टर जमिनमा लगाइएको तरकारी नष्ट हुँदा १ करोड ३२ लाख, २२ हेक्टरको फलफूलमा क्षति हुँदा ४४ लाख र ८५ हेक्टरको उखुमा क्षति पुग्दा ३ करोड ४० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।
कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले २३०० हेक्टर क्षेत्रफलको मत्स्यपालन प्रभावित हुँदा २३ करोडको क्षतिको अनुमान गरिएको जनाए । बाढी र डूबानका कारण १४ हजार २०५ वटा पशुपन्छी मर्दा ७६ लाख बराबरको क्षति भएको छ ।
जिल्ला अनुसार यस्तो छ क्षति विवरण
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मधेसको आठ जिल्ला मध्य सबैभन्दा धेरै रौतहटमा धानबालीमा क्षति भएको छ । रौतहटमा १० हजार २४३ हेक्टर क्षेत्रफलको धानबाली प्रभावित हुँदा १ अर्ब २२ करोड ९१ लाख ५० हजारको क्षति भएको छ ।
त्यसपछि सप्तरीमा ९ हजार ३ सय ६७ हेक्टर क्षेत्रफलको धानबाली नोक्सान हुँदा १ अर्ब २२ करोड ४० लाख ४० हजारको क्षति भएको छ । बारामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी र डुबानले प्रभावित हुँदा ७७ करोड ६६ लाख ४० हजारको क्षति भएको छ ।
त्यस्तै सर्लाहीमा पनि धानबालीमा धेरै क्षति गरेको छ । कृषि विकास निर्देशनालयका अनुसार सर्लाहीमा ६ हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा ६९ करोडको क्षति भएको छ । मधेस प्रदेशको धनुषामा ७०० हेक्टरमा क्षति पुर्याएको छ ।
सिराहामा कम क्षति गरेको छ । सिराहामा १५८.६ हेक्टर क्षेत्रफलमा मात्रै धानबालीमा क्षति पुगेको छ । पशुपंक्षीमा सबैभन्दा बढी सर्लाहीमा धेरै क्षति पुर्याएको छ । १४ हजार २ सय ५ वटा पशुपंक्षीमा क्षति पुगेको मध्य सर्लाहीको मात्रै १० हजार वटा पशुपंक्षीमा क्षति पुगेको छ ।





