महोत्तरी- मधेश प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको मटिहानीस्थित प्रहरी चौकीको नवनिर्मित प्रशासनिक भवन आज एक समारोहबीच उद्घाटन गरिएको छ।

भवनको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरी प्रसाद मण्डल, महोत्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्भ शर्मा तथा वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्षहरूले संयुक्त रूपमा गर्नुभएको हो।




उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख मण्डलले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै सुरक्षा र विकासलाई सँगसँगै अघि बढाउने नीति नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। स्थानीय तह स्थापना भएपछि दुई वटा प्रहरी चौकी भवन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा प्रहरी उपरीक्षक शर्माले प्रहरीको भूमिका भौतिक उपस्थितिमा मात्र सीमित नरही यसको प्रभावकारिता समाजले मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रहरीका सकारात्मक कार्यको चर्चा हुनुपर्ने र कमजोरी भए आलोचना पनि आवश्यक रहेको धारणा राख्नुभयो।

मटिहानी नगरपालिकाको नगर तथा वडास्तरीय संयुक्त योजनाअन्तर्गत करिब रु ३२ लाखको लागतमा उक्त भवन निर्माण गरिएको पालिकाका प्राविधिक दिनेश साहले जानकारी दिनुभयो। नव–निर्मित भवनमा हल, थुनुवा कक्ष, चौकी प्रमुख कक्ष, सहायक चौकी प्रमुख कक्ष, स्टोर र कार्यालय कक्षको व्यवस्था गरिएको छ।

समारोहमा नेपाली सेनाको गोरखनाथ गण परिकौलीका गणपति राम प्रसाद लामिछाने, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उपअनुसन्धान निर्देशक चन्दन झा, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास लगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।


















