
जनकपुरधाम - आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल सहित देशभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन मंगलबार व्रतीले नहा खाय अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए।
त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए।

षष्ठीका दिन हिजो विहिबार साँझ व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए।

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गरेका छन् ।
छठ पर्व किन महापर्व कहलिन्छ? यस्ता छन् ११ विशेषताहरू ः
१. धार्मिक विश्वासका साथ मनाइने भएकोले यो आस्थाको पर्व हो ।
२. सबै धर्म, वर्ग, लिग, समुदायले यो पर्व मनाउने हुदा यो धर्म निरिपेक्ष पर्व हो ।
३. विश्वव्यापी एकै दिन समान विधिका साथ मनाइने गरिएको हुदा यो एक मात्र अन्तरास्ट्रिय धार्मिक पर्व हो ।
४. वर्तालुहरुको कठोर एकाग्रता र समर्पण हुने गरेको हुदा यो निस्ठाको निर्जल पर्व हो ।
५. यस पर्वमा प्रयोग हुने मुख्य प्रसाद (ठेकुवा/भुसवा) नितान्त रुपमा आफ्नै घरमा पकाइने हुदा यो शुद्धताको पर्व हो ।
६. यस पर्वमा प्रयोग हुने अन्य प्रसाद जस्तै केरा, उखु, सुन्ताला, स्याउ, भेन्टा, बोडी, मुला, बेसार जस्ता प्राकृतिक प्रकृतिका तरकारी तथा फलफुलहरुले गर्दा यो प्राकृतिको पर्व हो ।
७. स्थानिय जैविक विविधताको प्रयोग गरि मनाइने यो पर्व जैविक विविधताको महत्व दर्शाउने एक मात्र पर्व हो ।
८. हस्त निर्मित माटोको पाक वर्तनको प्रयोग, वासको हस्तकला जस्तै नाङ्लो, ढकिया, सुपती, डगरी जस्ता वासवाट निर्मित भाडाकुडा/समाग्री प्रयोग हुने भएकोले यो तत तत उद्दमशिलता प्रवर्द्धनको पर्व हो ।
९. यो पर्व नदी, नहर, पोखरी, ताल, सिमसार जस्ता जलासयको तटमा मनाइने हुदा त्यस्ता जलाशयको सरसफाइ तथा आवश्यक मर्मत गरिने भएकोले यो जलाधार व्यस्थापनको पर्व हो । स्वच्छताको पर्व हो ।
१०. यो एक मात्र साक्षात देवता (सुर्य) को पुजा गरिने पर्व हो ।
११. यो समाजिक सदभाव, सहिष्णुता, लोक कल्याण, गैर राजनैतिक र वर्ग विभेद रहित पर्व भएकोले छठ पर्वलाई महापर्व भनिएको हो ।




























