काठमाडौँ - पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाए पनि मध्यक्रमका ब्याटरले रन बनाउन नसक्दा गतिलो लक्ष्य दिन नसकेको बताएका छन्।
सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा कप्तान आसिफले मिडल अर्डरमा राम्रो गर्न नसक्दा टिमको कुल स्कोरमा ३० देखि ४० रन कम भएको प्रतिक्रिया दिए।
ब्याटिङमा जिमी निसमबाहेक अरु कुनै खेलाडीले राम्रोसँग इनिङ अगाडि बढाउन नसकेको उनले उल्लेख गरे। उनले ब्याटिङमा दिएको जिम्मेवारी पूरा हुन नसक्दा राम्रो लक्ष्य प्रस्तुत गर्न नसकेको बताए। निसमसँग स्ट्राइक रोटेट गर्ने गराउन लक्ष्य भए पनि अन्यले साथ दिन नसकेको उनको भनाइ छ।
उनले पछिल्ला केही खेलसँगै आज पनि बलिङ र ब्याटिङमा राम्रो गर्न नसकेको र यी पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। सुदूरपश्चिमले कम गल्ती गर्दा जनकपुरमाथि हावी भएको उनको बुझाइ छ।
कर्णालीसँगको दोस्रो क्वालिफायरमा पनि गल्ती नगरी खेल्ने टोलीको जित सम्भव रहेको उनको भनाइ छ। उनले कर्णालीसँग पिचको अवस्थाअनुरूप खेल्नुपर्ने औँल्याए।
सुदूरपश्चिमले प्रतियोगिताभरि नै राम्रो खेल्दै आएको र बलियो टोली रहेको उनको भनाइ छ। यही टोलीलाई फाइनलमा पराजित गरेर उपाधि जित्ने उनको लक्ष्य छ।




