राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद् पदबाट निलम्बित भएपछि डोरप्रसाद (डिपी) अर्यालले रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन्। सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। उनी लामिछानेको सिफारिसमा कार्यबाहक बनेका हुन्।
दुई उपसभापतिमध्ये लामिछानेको रोजाइमा अर्याल परेका हुन्। अर्का उपसभापति स्वर्णिम वाग्लेले पनि कार्यबाहक सभापतिको आश राखेका थिए।
रास्वपाको विधानअनुसार दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने उल्लेख छ। यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमा रहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्ने विधानमा उल्लेख छ।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको छ। यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।


