
धनुषा – मधसको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आजदेखि एकमहिने मकर मेला सुरु भएको छ। मेलाको व्यवस्थापन धनुषधाम नगरपालिका,धनुष जनता मावि स्थानीय मेला समितिले गर्दै आएको छ। मेला भर्नका लागि नेपालका विभिन्न भागहरूबाट मात्र होइन, छिमेकी देश भारतबाट पनि हजारौं श्रद्धालु धनुषाधाम पुग्ने गरेका छन्।
धार्मिक मान्यता अनुसार, सीता स्वयंवरका बेला भगवान श्रीरामले धनुष उठाउँदा त्यसको एक टुक्रा आकाशतर्फ, अर्को पातालतर्फ, र बीचको भाग धनुषाधाममा खसेको किंवदन्ती छ। धनुषका टुक्रा खसेका स्थान धनुषाधाम प्रसिद्ध छन्।
धनुषाधाममा रहेको धनुष बाबाको मन्दिरमा भक्तजनले धनुषको टुक्रामा पुष्प र जल अर्पण गर्ने परम्परा रहेको छ। पाँचपटक मकर स्नान गरी धनुष भगवानको दर्शन गरेपछि सय रामेश्वरमको दर्शन बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।
मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। धनुषाधाम नगरपालिकाका अनुसार मेलाको व्यवस्थापनलाई सहज बनाउन सुरक्षा, सरसफाइ र यातायातमा विशेष ध्यान दिइएको छ।