
जनकपुरधाम - एका बिहानै च्यातेको जुत्ता,पातलो गञ्जी र सानो हाफपेन्ट लगाएर हक्की खेल्छिन् -११ वर्षिय लक्ष्मिनिया कुमारी दास । धनुषाको मिथिला नगरपालिका -१ लक्ष्मिनिवास टोलकी लक्ष्मिनिया कुमारी दास सँग न त खेल्ने जुत्ता छ , न त खेलाडी ड्रेस। केवल छ त हक्की खेल्ने जुुनुन , राष्ट्रको प्रतिनिधित्व गर्ने सपना र बुवाआमाको शिर ठाडो पार्ने धोको । उनी श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा अध्यनरत छिन्। पढाई सँगै खेल जिवनलाई आगाडि बढाउन चाहन्छिन् तर खेल खेल्न चाहिने औजारहरू नहुदाँ फिल्डमा टुटेको हक्की स्टिक र काँधमा जिम्मेवारी लिएर उभिएकी छिन्।

(बरका दाजु -दिदि सँब बाहर खेल जाइहई ,हमरो मन लगैयँ । लेकिन हमरा ल खेलइ बाला ड्रेसो नै हइ आ जुत्तो ने ) अर्थात् सिनियर दाई – दिदिहरु खेल्न बाहिर जानु हुन्छ, मलाई पनि मन लाग्छ । तर म सँग राम्रो स्टिक पनि छैन र खेल्ने जुत्ता पनि छैन तर पनि खेल्न आउँछिन् मिथिला नगरपालिका -१ घर भएकी १६ वर्षिय करिश्मा कुमारी दास । उनी पनि सोही बिधालयमा अध्यनरत छिन्। गाँउ समाजमा ब्याप्त महिला हिसां, बाल बिबाह,छोरी चेलीमाथि रहेको अन्धविश्वास सोच,महिला साहसिक छैन भनेर औला उठाउने हरुलाई चुनौती दिँदै हातमा हक्की स्टिक लिएर उभिएकी छिन्।

सोही ठाउँका अनमोल कुमार दास र करण दासको समस्या पनि लक्ष्मिनिया र करिश्माकै जस्तै छ। अनमोलका बुवा सञ्जय दास ब्याग सिउने काम गर्छन् भने करणको बुवा भोगेन्द्र दास (गाछी कटैया) अर्थात् रुख काट्ने काम गर्छन् । उनीहरुका बुवा – आमा ज्याला मजदुरी गरेर घर चलाउँछन्। सामुदायिक विधालयमा पढिरहेका यी दलित समुदायका बच्चाहरू शिक्षा सँगै खेल जिवनलाई आगाडि बढाउन चाहान्छन् तर उनीहरु माथि सरकारको आँखा नपर्दा सपना साकार हुन्छन कि भनेर अलमलमा छन् । “स्कुले जुत्ता र घरमा लगाउने कपडा लगाएर खेल्न आँउदा दुई-तिन दिनमै जुत्ता च्यात्दा ,टाँलेर जुत्ता लगाउनु परेको उनीहरु दुखेसो पोख्दै भनिन्। न त यहाँ खेल्ने सफा खेल मैदान छ ,न त ड्रेसिङ रुम।


संसारको खेल जिवनमा खेल्दा बखतको सबै दुःख खोज्नु छ भने नक्टाझिजको सामुदायिक विधालयको खेलमैदानमा पुग्दा भेटिन्छ। जहाँ दुई गाँस जुटाउनका लागि गर्नुसम्म संघर्ष गरिरहेका उनीहरुका आमाबुबाले छोरा-छोरीलाई खेल्न पठाउँछन् । खेललाई प्राथमिकतामा नराखेको यो समाजमा पलायन हुने स्थिति भयावह छ । एका तर्फ श्रम मन्त्रालयको डाटा अनुसार नेपालमा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या धनुषामा छ तर केहि समय देखि खेलले भने ती खेलाडीहरुलाई गाँउमै रमाउने वातावरण दिएको छ। कृषि पेशामा आवद्ध यहाँका समाज भने छोरीहरुलाई खेल्न पठाउनु मधेस प्रदेशको लागि गर्वको विषय हो। तर तिनीहरू खेल्न जाँदा स्रोतसाधनको अभावले भौतारिएका छन्। लक्ष्मिनिया , करिश्मा,अनमोल र करणको मात्र समस्या हैन, उनीहरु जस्ता कयौं खेलाडीहरुको कथा र ब्यथा कहालीलाग्दो छ ।

कसरी भयो यहाँ हक्कीको सुरुवात?
झण्डै ४ वर्षदेखि मिथिला नगरपालिका–२ स्थित सामुदायिक विधालयको खेलमैदान खेलाडीहरु हक्की खेल्ने क्रम जारी छ। हक्की खेल्ने खेलाडीहरू सोही विधालयमा अध्यनरत विधार्थीहरु नै हुन्। मिथिला नगरपालिकाको ढल्केवर लक्ष्मीनिवास, नक्टाझिज, सुग्जोर, नयाँ बस्ती, राघोपुर, श्रीपुर गाँउका विधार्थीहरु हक्की खेलमा व्यस्त रहन्छन्। राष्ट्रिय स्तरमा खेल खेलिसकेका पुर्व हक्की खेलाडी श्याम बाबु नायक एकाउन्टेन्ट शिक्षकको भुमिकामा सोही विधालयमा प्रवेश गरेका थिए। उनले त्यहाँ आफ्नो कामको जिम्मेवारी सम्हालेका दुई तीन महिनापछि हक्की खेल सिकाउने प्रयास गरेका थिए। विधालयका विधार्थीहरु कब्बडी, क्रिकेट र फुटबल खेलिरहेको देखेर हक्की पनि सिकाउन पाए। उपलब्धिमूलक हुन्छ भन्ने उद्देश्यले खेल सिकाउन थालेका उनी भन्छन्–सुरु सुरुमा पूर्व खेलाडीहरुबाट पुरानो हक्की स्टिक मागेर खेल सिकाएको थिए। पछि महौल बन्दै गएपछि दातृ निकायहरुले सहयोग गरेका थिए। मिथिला युवा संजाल ढल्केबरले दुई–दुई पटक खेलाडीहरुका लागि खेल्ने हक्की स्टिक, ड्रेस सेट प्रदान गरेपछि खेल सिकाउन र खेलाडीहरु टिकाउन सहज भयो। नायक सरका अनुसार “यस भेगमा हामीले महिलालाई प्राथमिकतामा राखेर खेल सिकायौं, अनुशासनको प्रत्याभूति गराएर पुरष र महिला दुवै टिम बनाई सकेपछी एक आपसमा मिश्रित गरेर खेलाउदै आएको बताउँछन्।

करिब १ वर्षको अभ्यास पछि त्यहाँका खैलाडीहरु विरगञ्ज, विराटनगर,पोखरा र काठमाडौं जस्ता ठाउँहरू मा राष्ट्रिय स्तरको खेल खेल्ने मौका पाएका थिए। अघिल्लो वर्ष पोखरामा सम्पन्न भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सोही गाउँबाट महिला र पुरुष गरी जम्मा १७ जना खेलाडीहरु हक्की खेलमा सहभागी भएका थिए। त्यसबेला त्यो ठाँउको लागि ऐतिहासीक क्षण थियो। सोही कारणले पनि होला पाचौं साहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना मधेसमा भएको थियो र मिथिला नगरपालिकाले आयोजना गर्ने मौका पाएको थियो। सोही हक्की प्रतियोगितामा मिथिला नगरपालिका बाट ७ जना महिला खेलाडी मधेस प्रदेशको हक्की टोलीमा समावेश भएका थिए । सोही प्रतियोगितामा मधेस प्रदेशको हक्की महिला टोली भने तेस्रो स्थान प्राप्त गरेको थियो। प्रथम भने विभागिय टोली नेपाल आर्मी र दोस्रो लुम्बिनी भएको थियो। त्यति मात्र हैन् एक वर्ष अघि प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता धनुषाको महेन्द्रनगरमा सम्पन्न भएको थियो।


डिसेम्बर १७ देखि २१ सम्म मलेसियामा तिन दिवसीय आमन्त्रित हक्की प्रतियोगिता मा नेपाली टिमबाट मधेस प्रदेशका रोनाश कुमार यादव सहभागि भएका थिए। १५ वर्षिय यादव मिथिला नगरपालिका -२ स्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिज कक्षा-७ मा अध्ययनरत विधार्थी हुन् । १५ बर्षकै उमेरमा अन्तराष्ट्रिय स्तरको खेलमा सहभागी भएका ती खेलाडी नक्टाझिज गाँउका लागि नौलो विषय बन्यो। रोनाश कुमार यादव भन्छन् ” १६ वर्षमुनिको खेल भएकै कारण उमेर र खेलअभ्यासको निरन्तरताले यो अवसर जुराएको “उनी भन्छन्।” रोनाश कुमार यादव राष्ट्रिय स्तरको प्रतियोगिता भने खेल्न पाएका छैनन्। उनी भन्छन् “नेपालमा हक्की खेल भने १६ र १९ वर्षमुनिका खेलहरू नहुदाँ र सिनियर टिममा ठुलाठुला खेल्ने खेलाडीहरू हुँदा आफु खेल्न नपाउनु पनि स्वाभिक हो तर यी १६ र १९ वर्ष मुनिका खेलहरू नेपालमा भयो भने मैले आफुलाई अझै निखार्न पाउथे”।

हालको अवस्था के छ त्यो गाँउको
गाँउमा खेलको महौल छ। जताततै क्रिकेट, फुटबल र हक्की खेल्छन्। थोरबहुत भलिबल र कब्बडी खेलाडीहरु पनि छन्।गाँउ भरि कुनै न कुनै विधाका खेलाडीहरु जबरजस्त मात्रमा पाइन्छन्। हक्की खेलाडीहरु भने दिनप्रतिदिन थपिएका छन्। क्रिकेट को अवस्था पनि त्यतिकै छ तर उनीहरूलाई व्यवस्थापन गर्ने स्रोत र साधन भने छैन। कति खेलाडीहरु स्कुल कै जुत्ता लगाएर खेल्छन्। घरमा लगाउने पेन्ट लगाएर नै हक्की खेल्छन्। जाडो याममा फुल ड्रेस लगाएर खेल्नु पर्ने ठाउँमा, उनीहरुको खुट्टा त्यतिकै देखिरहेका हुन्छन्। काठ र कार्बनले बनेको हक्की स्टिक र कडा बलको सटले घाइते समेत हुने अवस्था आउने सम्भावित जोखिम मोलेर उनीहरु खेलिरहेका छन् । किपर सँग राम्रो ड्रेस छैन। खेलमैदानमा घाँस छैन। त्यसमा पनि खेलमैदान समथर छैन।”खेलमैदान नै राम्रो नभएपछि खेल्नै ग्राहो भएको मधेस प्रदेश हक्की टिम पुरुष तर्फका हक्की खेलाडी अजय साह बताउँछन्। उनका अनुसार नयाँ भाई – बहिनिहरु थपिएका छन् । उनीहरुसँग जुत्ता पनि छैन। सबै गरिब र दलित समुदायका बच्चाहरू छन् । खेल्नको लागि जुत्ता किन्ने पैसा घरमा दिदैनन् । सानासाना भाई बहिनीहरुले च्यातेको जुत्ता लगाएर खेलेको देख्दा म आफ्नो पुरानो जुत्ता दिएको हुन्छु तर यस्ता थुप्रै साना – साना भाई बहिनीहरु छन् । उनीहरुका लागि हामीसँग दिने अनुभव बाहेक अरु केहि छैन । किपरले लगाउने ड्रेस पनि महँगाो मा दिन्छन्। नगरपालिकामा सहयोग माग्न जाँदा कुनै कर्मचारीले मतलब राख्दैन् । मेयर र उपमेयर भेट्नै ग्राहो हुन्छ। सानो सहयोगको अपेक्षा लिएर पनि नगरपालिका जाँदा प्रकिया देखाएर निराश बनाइ दिन्छन् हामीलाई। अर्का पाली देखि सहयोग माग्न जाने वातावरण नै नरहको साह बताउँछन्। मिथिला नगरपालिका -२ नक्टाझिज घर भएका सुकु साहका २५ वर्षिय छोरा अजय साह हक्की खेलेको ४ वर्ष भयो। कमाउने उमेर मा खेल तर्फ होमिएका अजय प्राय समय खेलमै समय दिने गरेका हुन्छन्। प्रशिक्षक अनुपस्थित भएका बेला अजयले नै खेल सिकाउने वातावरण मिलाएका छन् । तर त्यो खेल वापत न त उनले पैसा पाउँछन्,न त घरमा सुख । उनी भन्छन् ” घरको जेठो छोरो हो। बिहे गर्ने उमेर पुग्यो भनेर परिवारले बिहे गर्न भन्छ तर आफु पैसा कमाएपछि मात्र बिहे गर्ने सोचमा छु । एकाथरीबाट विदेश जान सबैले दबाब दिईरहेका छन् तर मलाई स्वदेश मै केहि गर्ने मन छ। थुप्रै राष्ट्रिय स्तरको प्रतियोगिताहरु खेले तर यहाँ बसेर खेल्ने वातावरण नहुदाँ कुनै बेला बिदेश गई हालु जस्तो पनि लाग्छ “।

अजय जस्तै झण्डै ४ वर्षदेखि हक्की खेलीरहेकी मधेस प्रदेश महिला हक्की टिमकी रोल रक्षक १८ वर्षिय मधु कुमारी साहलाई भने राष्ट्रिय टिमबाट देशको प्रतिनिधित्व गर्ने धोको छ। जनता माध्यमिक विधालय नक्टाझिजको कक्षा ११ मा अध्यनरत साह मिथिला नगरपालिका -२ नक्टाझिजकी स्थानिय बासिन्दा हुन्। उनले पाँचौ र छेठौं साहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता, मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता ,पोखरामा भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायत स्थानिय र सहरहरुमा हुने सबै खाले हक्की खेलहरू प्रदेश टिमबाट गोल रक्षक कै भुमिका रहेको बताउँछिन्। उनी हक्की बाहेक कब्बडी पनि खेल्छिन्। धनुषा जिल्ला कब्बडी टिमबाट पनि कबड्डी खेलेको अनुभव उनीसँग छ।

खेल तर्फ भने स्थानिय सरकारको उदासिनताले खेलाडीहरु टिकाउन गार्हो भएको मधेस प्रदेश हक्की टिमका प्रशिक्षक रविन्द्र सिंह बताउँछन्। गाँउ समाज र सामुदायिक विधालयको साथ र सहयोग छ। फेमिलीहरु आफ्नो छोरा-छोरीलाई खेल सिकाइ दिनुस् भनेर आफै आउँछन्। हामी खेल मात्र सिकादैनौ, अनुशासन लाई प्राथमिकता दिन्छौं त्यसकारण नक्टाझिजको माहौल भने खेलहरू तर्फ होमिएको उनको ठम्याई छ। तर स्थानिय र प्रदेश सरकारले यी गतिविधि हेरेर पनि नहेरेको जस्तो अभिनय गरिरहेको,उनको भनाई थियो।

मधेस प्रदेशको राजधानी जनकपुरधाम देखि उत्तरी भेगका पर्ने धनुषाको मिथिला नगरपालिकामा मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको छ। कुनै बेला ढल्केबर फुटबल खेलाडीहरुको हब नै थियो। मिथिला नगरपालिकाको लालगढ,बेगांडावर ,जमुनिवास , नक्टाझिज र ढल्केबरका खेलाडीहरु फुटबल खेल्न ठाउँ -ठाउँमा जाने गर्थे र उनीहरुको आआफ्नै ठाउँको टिम बलियो हुन्थ्यो तर अहिले अवस्था फेरिएको छ। क्लबहरू कुनै राजनितिक दलको झोलामा सिमित भइसके भने खेलाडीहरु पलायन भइसके। हालको अवस्थामा पनि खेलमै जिवन बिताइरहेका र खेलिरहेका खेलाडीहरुका लागि भने सरकारको चासो छैन। विभागिय टोली नेपाल आर्मी फुटबल क्लबबाट खेलिरहेका मिथिला नगरपालिका -९ बेगांडावरका २३ वर्षिय दिपेन्द्र विक ( सु मन ) भने “धेरै उतारचढावका बाबजुत स्वदेशमै खेलिरहेको बताउँछन्। उनका अनुसार “हामी बेगांडावर बोइ्ज क्लबबाट खेल्ने गर्थ्यो । हामी सँग खेल्ने राम्रा राम्रा खेलाडीहरु विदेश गइसके”। अष्टेलिया,कतार ,अमेरिका , साउदी अरब मा छन् । उनीहरुले पालिका भित्र खेल्ने वातावरण नपाउँदा कतिले खेल खेल्न त कतिले पैसा कमाउनै कै लागि पलायन भइसक्यो । ” अहिले पनि साना-साना भाईहरु बेगांडावर फिल्डमा फुटबल खेलिरहेका छन्। स्थानिय स्तरबाट कुनै प्रतियोगिता हुदैन,खेलमा टिकाउने गार्हो छ। उनीहरुलाई स्थानिय सरकार अथवा राज्यले संरक्षण गरेनन् भने खाडी मुलुक जान बाध्य हुन्छन्”।

पछिल्लो समय महिला क्रिकेटको हब बन्दै नक्टाझिज।।प्रधानमन्त्रीको कपको लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा धनुषा टिममा सहभागि भएका १५ जना महिलाहरु मिथिला नगरपालिका कै थिए। क्रिकेट बाहेक कब्बडी र हक्की खेल्ने महिलाहरूको सङख्या पनि २० देखि २५ जना सम्म छ । यसरी मिथिला नगरपालिकाको वार्ड नं १,२ र ५ मै मात्र ४५/५० जना सम्म महिला खेलाडीहरु उत्पादन भएको गणितीय तथ्याङ्कले देखाउँछ। त्यसमा पनि जिल्ला, प्रदेश, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरसम्म नक्टाझिज गााँउकै खेलाडीहरु रहेका छन्। एकै ठाउँबाट खेलकुदमा यतिको महिला खेलाडीहरु सक्रिय हुनु कुनै सानो उपलब्धि नभएको स्थानीयको भनाइ छ ।

मिथिला नगरपालिकामा महिलाहरूलाई क्रिकेट सिकाउनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेकी “राष्ट्रिय महिला क्रिकेट खेलाडी रोजी कडारी छिन् । उनका अनुसार धेरै खेलाडीहरु खेलमा निखारिँदै गएका छन् । उनीहरूको खेलमा सुधार हेर्दा धेरै खुसी लागेको छ तर अभ्यासका लागि खेलसामग्रीको अभाव रहेको प्रशिक्षक कडारीको भनाइ छ । सामुदायिक विद्यालय र हिमालय युवा क्लबले थोरबहुत खेलसामग्री दिएर सहयोग गर्दै आएको बताइन् । त्यस्तै पछिल्लो समय एनपिएल र महिला क्रिकेटमा यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले अन्तर्राष्ट्रिस्तरमा उत्कृष्ट प्रदर्शन गरेपछि उहाँको प्रेरणाले क्रिकेट खेलतर्फ पनि महिला खेलाडी बढेको जिकिर गरिन्।

श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका प्राधानाध्यापक श्याम कुमार यादव भन्छन् “हाम्रो सामुदायिक विधालयबाट ५०/६० जनाको हाराहारीमा विधार्थीहरु हक्की र क्रिकेट खेल्ने गर्छन्। उनीहरु मध्ये एक जनाले अन्तराष्ट्रिय स्तरको प्रतियोगिताहरु पनि खेलिसके । जिल्ला टिम र प्रदेश टिमहरमा सबै हाम्रै विधार्थीहरु छन्। महिला खेलाडीहरुको संख्या बढाउन खोजिरहेका छौं। पढाई नबिग्रयोस् भनेर हामीले विधार्थी खेलाडीहरु सँग सहकार्य र समन्वय गर्दै आगाडि बढेका छौं। विधालय स्तरबाट उनीहरुले खेल्ने खेल शिर्षक मै केहि रकम बिनियोजन गरेर विधालय हाताभित्र खेल प्रतियोगिताहरू गराईरहेका छौं। खेल सामाग्रीहरू को अभाव छ। खेलमैदान व्यवस्थापनको अभाव छ र प्रतियोगिताहरुको पनि अभाव रहेको जिकिर गर्दै यसमा प्रदेश सरकारलाई ध्यान दिन आग्रह समेत गरे । विधालयको स्रोतबाट यतिका खेलाडीहरु लाई व्यवस्थापन गर्न समस्या भईरहेको र स्थानिय तहले गरेको सहयोग संतोषजनक नरहेको हुँदा प्रदेश र केन्द्र सरकारले अविलम्ब हातेमालो गर्न अनुरोध गरे ” ।

मिथिला नगरपालिका नक्टाझिज कुनै बेला पुरुष क्रिकेटर खेलाडीहरुको हब मानिन्थ्यो तर अहिलेको अवस्था संतोषजनक नरहेको हिमालय युवा क्लब नक्टाझिजका पुरुष क्रिकेटर मनिष सिहं बताउँछन्। मिथिला नगरपालिका -२ नक्टाझिज घर भएका २१ वर्षिय मनिष भन्छन् ” हामीले नाम चलेका क्रिकेट टिमहरूलाई हराएको इतिहास छ । सर्लाही, महोतरी, सप्तरी, जनकपुर,बारा, सिरहा गएर खेल्ने गर्थ्यो। त्यहाँ बाट थुप्रै मेडल र सिलहरु जितेर ल्याएको र त्यो मेडलहरु अहिलेपनि क्लबमा छन् ।राजविराज,पोखरा र चितवन , गोलबजार जस्ता टिमहरूलाई हराएका छौं। तर हामी सँगै खेल्ने राम्रा – राम्रा खेलाडीहरु विदेश गइसके । बिहे गरेर घरपरिवार चलाउन अर्कै काम गर्छन्, क्रिकेट छाडिसकेको अवस्था छ उनीहरु। ” मनिष सिंह क्रिकेट इतिहासका ठुला – ठुला हस्तिहरु सँग खेलेको अनुभव छ । राष्ट्रिय टिमबाट खेलिसकेका मेहबुब आलम,मो. आदिल अन्सारी सगँ खेल्ने गर्थे । हाल राष्ट्रिय टिमबाट खेलिरहेका गुल्सन झा,विवेक यादव, अनिल साह सँग खेलेको अनुभव छ तर मनिष सिहं जस्ता कयौं अभागि खेलाडीहरुले भने कुनै पनि राष्ट्रिय स्तरको प्रतियोगिता मा ठाउँ पाएनन्। मनिष भन्छन् ” म कयौं पटक आफ्नो ट्यालेन्ट देखाउन क्याम्पमा सहभागि भए तर प्रशिक्षकहरुको नजमा ऐकेडेमी बाट आएका खेलाडीहरु मात्र राम्रा खेल्छन् भनेर आफु पटक – पटक छाटिए । म सँग आर्थिक स्रोतको अभाव छ। बुवा खेती किसानी गर्नु हुन्छ। क्रिकेट ऐकेडेमी ज्वइन गर्न पैसा नभएकै कारण आफु राम्रो गरेतापनि ऐकेडेमी छिर्न नपाएको दुखेसो पोख्दै भने ”क्लबहरू त छन् तर क्लबमा क्रिकेट अभ्यासका लागि नेट छैन। भरपर्दो ब्याट छैन र प्रशिक्षक पनि छैन। यसको मतलब जो सँग प्रतिभा छ तर उ गिरब छ र ऐकेडेमी ज्वन छैन भने जिल्ला र प्रदेश लेभलको खेलमा पनि अटाउन ग्राहो छ ” ।

हिमालय युवा क्लब नक्टाझिजका भरपर्दा क्रिकेट खेलाडी: मनिष सिहं
मनिष जस्ता थुप्रै प्रतिभा भएका खेलाडीहरु छन् यहाँ तर उनीहरूको खेल अभ्यासका लागि आवश्यक स्रोत र सामाग्रीहरु नहुदाँ अन्त : उनीहरु पलायन हुने सोचमा छन् । सिंह आफै एक खेलको २ देखि ३ हजार लिएर अर्का टिमबाट खेल्ने गरेको छ। जुन टिमले बढी पैसा दियो त्यहि टिमबाट खेल्ने गर्छ तर घरमा जेठा छोरा भएको नाताले कमाएर परिवार चलाउनुपर्ने जिम्मेवारी उनी माथि छ। त्यसैले उ विदेश जाने सोचमा छन्। मनिष ,विधालय स्तरको प्रतियोगिताहरु मा कयौँ सतक प्रहार गरेको याद पनि नरहेको बताउँछन् । सर्लाहीको भरहथवा मा भएको एक खेलमा उनले शतक बनाए वापत ५ हजार पाएको सम्झना छ । हिमालय युवा क्लब नक्टाझिजका क्रिकेटर महादेव सिंह,चन्दन सिंह,आयुष साह,अनिल गौतम , अवि सिंह,दिवजल श्रेष्ठ,रुपेश सिंह जस्ता खेलाडीहरुको कथा र ब्यथा मनिष सिहं जस्तै छ। उनीहरु सँग न त प्रशिक्षकको साथ छ ,न त अभ्यास गर्ने नेट नै । घरको आर्थिक अवस्था भने कमजोर । पुराना र सस्ता ब्याटहरु लिएर वर्षेादेखि खेलिरहेका छन् । अन्त : उनीहरु मध्ये केहि खेलाडीहरु विदेश जाने योजनामा छन्।

सरकारलाई मतलब छैन्
माथि उल्लेख गरिएको यावत विषयहरू धनुषाको मिथिला नगरपालिका १,२ र ५ का समस्याहरु मात्र हुन् । तर यी जस्तै यावत् समस्या भने पालिका भरि छ तर स्थानिय सरकार कानमा तेल हालेर गुपचुप छन् । न त कुनै किसिमको क्रिकेट टुनामेन्ट हुन्छ,न त हक्की टुनामेन्ट । लालगढ बेगांडावर र ढल्केबरका फुटबल खेलाडिहरू अवसर नपाएर पलायन भईसके । त्यहाँका क्लबहरू राजनितीकर्मीहरुले कमाई खाने भाँडो बनाई सके जनप्रतिनिधिहरू को स्वार्थी राजनितिले एकले अर्कोको प्रतिशोध साध्न मै समय बिताइरहेका छन्। मिथिला नगरपालिका को मेयर महेन्द्र महतो सँग सम्पर्क गर्न खोज्दा उनी पारिवारिक कामले अमेरिका भ्रमणमा रहेको बुझिएको छ। ” मेयर साँब नहुदाँ मेयरको ट्याग बोकेर भएन् , आफुलाई मेयर जतिको अधिकार नभएको “पालिका उपप्रमुख सुनिता सिंह बुढाथोकी बताउँछिन्। “पालिकामा हाकिमको अनुपस्थितिले विकासका गतिविधिमा ह्रास आएको कुरा स्विकार छिन्। पालिका भित्रका खेलाडीहरु वर्षौदेखि राष्ट्रिय स्तरको खेलहरु खेलिरहेको भएतापनि हक्की खेलको लागि उचित खेल मैदान, खेल सामाग्रीहरूको अभाव बारे संचारकर्मीले सोधेको प्रश्नमा “हामीले सोचेको अनुसार कामहरु हुन नसक्दा आफै पनि दुखि रहेको बताइन्। क्रिकेट खेलाडीहरुलाई प्रशिक्षक र नेटको अभावमा खेल छाडेर पलायन भइरहेकाे बारे संचारकर्मीले सोधेको प्रश्नमा उनले भनिन् ” हामीले यसपालि उपमेयर महिला कप टुनामेन्ट गर्ने सोचमा छौ । हाललाई हक्की र भलिबल खेललाई आगाडि बढाउने सोचका साथ लागि परेको र क्रिकेट नेट ,प्रशिक्षक लगायतको व्यवस्था बारे आफु कार्यपालिकाको मिटिङमा यो विषय राख्ने जनाइन्।

हिमालय युवा क्लबका संरक्षक अरुणकुमार महतोले खेल क्षेत्रको उत्थानका लागि क्लबले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । खेलकुदको आयोजना तथा खेलाडीलाई खेलसामग्री प्रदान गरेर खेलाडीलाई प्रोत्साहन गर्दै आएको उहाँले जानकारी दिनुभयो । मिथिला नगरपालिकामा खेलसामग्रीको अभाव, प्रशिक्षकको कमी र खेलकुद प्रतियोगिताको आयोजना नहुनु मुख्य समस्या छ ।

यो एकदमै साेचनिय र विचारणीय विषय रहेकोले यस तर्फ स्थानिय र प्रदेश सरकारलाई ध्यान दिन स्थानियहरु बताउँछन्। ढल्केबरका स्थानियहरु भन्छन् “ढल्केबरका होटल व्यवसायीहरु पलायन भएर बर्दिबास सरिसके, पूर्व पश्चिम राजमार्गको ठूलो पार्क सानो हुदै छ,हाईवेको सबैभन्दा ठुलो तरकारी बजार सानो हुदै छ,यस भेगमा कुनै ब्याचलर क्याम्पस छैन, मधेस प्रदेशको पर्यटकिय स्थल रहेको “मिथिला सागर, पोखरिया” दिनप्रतिदिन कुरुप बन्दै गएको मा स्थानिय सरकार के हेरेर बसिरहेको भन्दै दुःखेसो पोखे।” ढल्केबरका स्थानिय शिक्षक मोहन बास्तोला बताउँछन्न् ” छिमेकी गाँउ वटेश्वरका युवाहरु स्थायी कर्मचारीको हब बन्दै गएको र अर्का छिमेकी गाँउ नक्टाझिजमा राष्ट्रको लागि खेलाडीहरु उत्पादन हुने काम भईरहेको छ तर ढल्केबरमा यौनधन्दा, चोरी,डकेैती जस्ता अनैतिक क्रियाकलापहरु पछिल्लो समय बढ्दै गएको प्रति दुख व्यक्त गरेका थिए। स्थानियहरु का अनुसार ” यस पालिका मा भए भरको सम्पतिहरु नास हुदै गएको छ । खेलाडीहरु उत्पादन भईरहेको ठाउँमा स्थानिय सरकारको आँखा छैन। ” खेलाडीहरु जस्तो बहुमूल्य सम्पतिलाई स्थानिय र प्रदेश सरकारले संरक्षण गर्न सकेन भने ढल्केबरको अस्तित्व समाप्त हुने अवस्था आउन समय नलाग्ने” उनीहरूको भनाई थियो।
युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हुनुपर्छ। युवाहरूलाई सामाजिक रूपमा सबल बनाउन खेलकुद एउटा सुन्दर तरिका हो । यदि उनीहरू संगठित खेलहरू खेल्छन् भने उनीहरूले धेरै नयाँ व्यक्तिहरूसँग परिचय गर्न पाउँछन् । खेलाडीले परिवार सँगै समाज र देशको नाम अन्तरराष्ट्रिय स्तरमा पुर्याउने माध्यम पनि हो । अधिकाँश गाउहरुमा युवाहरु पलायन भईरहेको अवस्थामा, स्वदेशमै बसेर केहि गर्ने युवा खेलाडिहरू प्रति सरकारको ठोस योजना ,निति र मास्टर प्लान नहुदाँ खेलाडीहरु पलायन हुने स्थितिमा छन्।आमा बुबा चिया बेचेर छोरीलाई क्रिकेटर बनाएको ईतिहास हो ,पुजा महतो। पुजाले अन्तराष्ट्रिय स्तरमा देखाएको प्रभावशाली प्रदर्शनले मधेसको छोरीको सान मात्र नभएर नेपालीहरुको सान बढाएको छ तर पुजा जस्ता कयौं खेलाडीहरु भने मधेसमा लुकेका छन्। तर यहाँ सफल मान्छेको कथा लेखिन्छ। गरिबको कथा बेचेर धनी – धनी भइरहन्छ तर गरिब जस्ताको तस्तै। खेलाडीलाई साथ त उसले संघर्ष गरिरहेको बेला चाहिन्छ। सफल भएपछि बधाई दिन जो पनि आउँछन्। रमाउने माध्यमहरु धेरै भएतापनि यी गाँउका छोरीहरू खेलमा रमाइरहेका बेला जनप्रतिनिधिहरु भने स्वार्थी राजनिति र सत्ताका लागि रमाइरहेको भन्दा फरक नपर्ला। राजनितिक र लोकतान्त्रिक संस्कारको कमी र जनप्रतिनिधिहरुको अकर्मण्यताले खेलाडीहरु जस्ता देशको गहनालाई पनि संरक्षण गर्न राज्यको फितलो निति ,नियम र शुन्य लगानीले खेल क्षेत्रलाई छियाछिया पारेको अवस्था छ । त्यसकारण स्थानिय र प्रदेश सरकार बाट अविलम्ब हातेमालो गर्न जरुरी छ ।

