
महोत्तरी - केही वर्षअघि मात्र फर्केर हेर्ने हो भने महोत्तरीको बर्दिवासलाई मधेस प्रदेशका सबै जिल्लाबाट गुणस्तरीय शिक्षाका लागि आफ्ना छोराछोरी पढाउने उपयुक्त गन्तव्य मानिन्थ्यो । अझ प्राविधिक धारका शिक्षालयहरू बाक्लै खुलेपछि देशैभरका विद्यार्थीहरूको आकर्षण झन् बढ्यो । हालसम्म ६८ जिल्लाका विद्यार्थी बर्दिवास आएर पढेको तथ्यांकमा देखिन्छ ।
तर, शैक्षिक हबका रूप विकास हुँदै गरेको बर्दिवास पछिल्लो समय भने ओरालो यात्रामा रहेको विभिन्न तथ्यहरूले पुष्टि गरेका छन् । विद्यालयमा बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको संख्यालाई आधार मानेर बर्दिवासलाई शैक्षिक सहर र शैक्षिक गन्तव्यका रूपमा व्याख्या गरिँदै आए पनि यसको भित्री कथा भने निक्कै टिठलाग्दो छ ।
नगर क्षेत्रमा ५१ वटा सामुदायिक विद्यालय र २७ वटा संस्थागत विद्यालय छन् । विद्यार्थी संख्याका आधारमा शिक्षक व्यवस्थापन, दरबन्दीको अवस्था र निरन्तर घट्दै गएको कुल विद्यार्थी संख्या हेर्दा बर्दिवासको शैक्षिक गन्तव्य एकादेशको कथा बन्ने क्रममा छ । हुन त महोत्तरी साक्षरताका हिसाबले पनि निकै पछाडि छ । देशभरको तथ्यांक हेर्ने हो भने महोत्तरी रौतहटपछि मुलुककै दोस्रो असाक्षर जिल्लाका रूपमा पर्छ । यति हुँदा पनि बर्दिवासमा विकास हुँदै गरेको शैक्षिक अवस्थाले केही आशा पलाएको थियो । तर, विकासक्रमलाई सही ढंगबाट जोगाउन र डोहोर्याउन नसक्दा शैक्षिक अवस्था थप धराशायी बनेको नगरपालिकाको शिक्षा शाखाले उपलब्ध गराएको तथ्यांकबाट अनुमान लगाउन सकिन्छ ।
सामुदायिक विद्यालयको ओरालो यात्रा
स्थानीय सरकारले सामुदायिक विद्यालयमा गुणात्मक विकास भएको दाबी गरे पनि अघिल्ला वर्षहरूको भन्दा नतिजा निरन्तर खस्किँदो क्रममा छ । संख्यात्मक रूपमा स्थिर देखिए पनि बाहिरबाट आउने विद्यार्थी संख्या घट्दो क्रममा छ । यो समाचार तयार पार्दै गर्दा बर्दिवास–९ स्थित बनारझुला विद्यालयका विद्यार्थीहरू शिक्षक नभएको भन्दै आन्दोलित छन् । नगरपालिकाले पर्याप्त शिक्षक भएको जिकिर गरे पनि विद्यार्थीहरू ७ महिनादेखि गणित विषयको पढाइ नभएको भन्दै गेटमा तालाबन्दी गरेर शिक्षक माग गरिरहेका छन् ।
खयरमाराको लक्ष्मीनारायण विद्यालयमा त विद्यार्थीहरूले नियमित पढ्न नपाएको वर्ष दिन बितिसकेको छ । परिणामस्वरूप विद्यार्थीहरू अन्यन्त्र गएर पढ्न बाध्य भएका छन् । नगरपालिकाको शिक्षा शाखाका अनुसार अहिले (शैक्षिक सत्र २०८१ मा) नगरभरका सामुदायिक विद्यालयमा २३ हजार ९४८ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ४६.४ प्रतिशत छात्रा र ५३.६ छात्र रहेको शिक्षा शाखा प्रमुख रेवतीप्रसाद पराजुलीको भनाइ छ । जसमध्ये दलित ३ हजार ४३१, जनजाति ६ हजार ६८१, ब्राह्मण, क्षेत्री ३ हजार ८२५ र अन्य ११ हजार २३४ विद्यार्थी अध्ययन गरिहेको शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी संख्यालाई मात्र आधार मान्ने हो भने पनि शिक्षकहरूको संख्या कम छ । सामान्यतयाः हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराईमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने व्यवस्था छ । यसैलाई आधार बनाउँदा बर्दिबासमा विद्यार्थी संख्याका आधारमा ४७९ जना शिक्षक आवश्यक हुन्छ । तर, अहिले ४२६ जना मात्र शिक्षक कार्यरत छन् । विद्यार्थी संख्याको अनुपातमा ५३ जना शिक्षकको अझै कमी छ ।
दरबन्दीको न्यूनतम मापदण्डअनुसार नगरको त्यति धेरै असन्तुलन देखिँदैन । तर, बर्सेनि गुणात्मक रूपमा खस्किँदै गएको नतिजाले शिक्षक व्यवस्थापन चुस्त नभएको र शिक्षा क्षेत्र राजनीतिक भुमरीमा पर्दै गएको देखिन्छ । व्यवस्थापन समितिका अध्यक्षहरू निर्वाचित गर्दा आफ्ना मातहत वा निकट व्यक्तिलाई गर्ने र प्रधानाध्यापकलाई स्वतन्त्र ढंगले काम गर्न नदिने जस्ता हर्कतले प्रशासकीय व्यवस्थापनसमेत कमजोर बनेको स्थानीय बताउँछन् ।
शैक्षिक गुणस्तर कमजोर
प्रावि, निमावि र मावि तहका शिक्षकहरूको दरबन्दी हेर्दा त्यति धेरै फरक नभए पनि बर्दिवासको शैक्षिक गुणस्तरको अवस्था भने कहालीलाग्दो छ । नगर क्षेत्रमा २३ वटा माध्यमिक, १ देखि ८ कक्षासम्मका ७ वटा, १ देखि ५ सम्मका २० वटा, बालविकास मात्र भएको एउटा विद्यालय गरी ५१ वटा सामुदायिक विद्यालय छन् ।
यसैअनुसार अहिले बर्दिवासमा माध्यमिक तहका ११६ जना, निमावि तहका ८६ जना, प्रावि तहका २२३ जना र बालविकासमा ७ जना शिक्षक छन् । दरबन्दीअनुसार ९–१० कक्षामा ५ जना शिक्षक, निमावि (आधारभूत) मा ४ जना, प्रावि (१–५) मा ३ जना, ११–१२ कक्षा चलेकामा ३ जना शिक्षकको न्यूनतम दरबन्दी रहनुपर्छ ।
मापदण्डअनुसार २१ वटा प्राविमा ६३ जना शिक्षक आवश्यक पर्नेमा २२३ जना शिक्षक छन् । यो दरबन्दीअनुसार निकै बढी देखिए पनि विद्यार्थी संख्या भने प्राविमा ९ हजार ६६६ र इसिडीमा ३ हजार ४६८ छन् । विद्यार्थी संख्याअनुसार नगरमा २६३ जना शिक्षक आवश्यक हुन्छ । तर, २२३ जना शिक्षकहरूले मात्र पर्याप्त समय दिन नसक्ने हुँदा मापदण्डअनुसार नै अझै नगरलाई ४० शिक्षकको कमी छ ।
त्यस्तै, ७ वटा निमाविमा ८६ जना शिक्षक छन् । निमावि तह (६–८) सम्म अहिले ५ हजार ७५८ विद्यार्थी छन् । विद्यार्थी संख्याका आधारमा ११६ जना शिक्षक आवश्यक हुनुपर्नेमा २९ जना शिक्षकको कमी छ ।
२३ वटा माविमा भने ११५ जना शिक्षक आवश्यक पर्नेमा १ जना बढी अर्थात् ११६ जना शिक्षक छन् । कक्षा ११–१२ चलेका १७ वटा विद्यालयमा दरबन्दीअनुसार ५१ जना शिक्षक आवश्यक पर्छ । तर, मावि तहकै शिक्षकहरूले अध्यापन गराइरहेका छन् । अहिले ११–१२ मा अध्ययन गर्ने विद्यार्थी संख्या १ हजार ८३० छ । यसअनुसार पनि ३७ जना शिक्षकको आवश्यक पर्छ । मावि तहमै ठिक्क संख्यामा शिक्षक रहेकाले तिनै शिक्षकले ११–१२ पनि पढाउँदा पढाइ कमजोर भएको स्थानीय युवा निरोज अधिकारी बताउँछन् ।
‘स्थानीय सरकारले कतै धेरै शिक्षक राख्ने कतै शिक्षक नै नराख्ने कारणले यो अवस्था सिर्जना भइरहेको छ,’ स्थानीय युवा नेता शंकर महतोले भने, ‘शिक्षामा राजनीति गर्ने, व्यवस्थापन समितिका अध्यक्ष वा प्रधानध्यापकलाई खुसी बनाउन जरुरतभन्दा बढी शिक्षक राख्ने जस्ता काम बन्द नगरेसम्म सुधार हुने देखिँदैन ।’
प्रधानाध्यापकको स्वतन्त्रतामा हस्तक्षेप
योग्यता र क्षमताका आधारमा नगरले लिखित परीक्षासमेत लिएर प्रधानाध्यापक नियुक्ति गरे पनि त्यो पूर्णतः अप्रभावकारी देखिएको छ । ‘मुख्यतः वडाध्यक्षको स्वार्थ थेग्न सकिँदो रहेनछ । विद्यालय सुधारका लागि कार्ययोजना बनाएर अघि बढ्यो, व्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षले ‘अपांग’ जस्तै बनाउँदा रहेछन्,’ पशुपति बनारझुला विद्यालयमा केही समय प्रधानाध्यापक बनेका भोजराज साहले भने, ‘जब प्रधानाध्यापकको हातखुट्टा नै बाँधिन्छ भने कसरी काम गर्न सकिन्छ र !’
अभिभावक र समुदायको सहयोग रहे पनि प्रशासनिक कामका बैंक खाता खोल्न रोक लगाउने, शिक्षकहरूलाई नै प्रयोग गरेर विद्यालय सुधारका योजना विफल बनाउने जस्ता हर्कतले नगर क्षेत्रमा शिक्षाको गुणात्मक विकास गर्न नसकिएको पूर्वप्रधानाध्यापक साहको भनाइ छ । वडाध्यक्षले आफूमाथि राजनीति गर्न लागेपछि त्यसलाई प्रतिवाद गर्दा टुटेश्वर विद्यालयमा सरुवा गरिएको साहले सुनाए ।
साहले जस्तै समस्या लक्ष्मीनारायण विद्यालय खयरमारामा नगरले प्रधानाध्यापको जिम्मेवारी दिएर पठाएका विजय यादवले पनि भोगे । राजनीतिक चेपुवाको सिकार बनेका यादवलाई लामो समयसम्म व्यवस्थापन समितिका सूर्य देवकोटाले काम नै गर्न नदिएपछि अदालतको सहारा लिएका थिए । प्रारम्भिक चरणमा अदालतले अन्तरिम आदेश जारी गरेर काम सुचारु गर्न निर्देशन दिए पनि पछि व्यवस्थापन समितिकै पक्षमा फैसला भयो । मानसिक रूपमा समेत समस्या झेलेका यादव बिरामी भएर अहिले घरमै आराम गरिरहेका छन् । आफू अनुकूल वा आफ्नै पार्टी निकट प्रधानाध्यापक हुनुपर्छ भन्ने होडबाजीको चेपुवामा परेका प्रधानाध्यापक यादव काम नगर्ने अवस्थामा पुगेका छन् ।
निरन्तर काम गरिरहेका र गुणस्तर निर्माणका लागि कार्ययोजना बनाएर अघि बढेका प्रधानाध्यापकहरूलाई अदलबदल गर्ने र दुःख दिने प्रवृत्तिले अधिकांश प्रधानाध्यापक पीडित छन् । ‘शिक्षामाथि जुन ढंगले राजनीति गरिँदै छ, त्यसले बर्दिवासको गुणात्मक शिक्षालाई पछाडि धकेलिरहेको छ,’ स्थानीय राजीव तामाङ भन्छन्, ‘स्थानीय सरकार प्रमुख र पदाधिकारी सुझबुझ भएको नभएमा समस्या हुन्छ भन्ने अहिले देखिँदै छ ।’
प्रधानाध्यापकलाई असफल बनाउन शिक्षकहरूलाई नै हतियार बनाउने र राजनीतिक अभीष्ट पूरा गर्न स्थानीय सरकारमा भएकाहरूले शिक्षा क्षेत्रलाई क्रिडास्थल बनाउदै लगेको जानकारहरू बताउँछन् ।
मेयर क्षेत्रीको लहडले पारेको असर
शिक्षाको गुणात्मक विकासका लागि आमूल परिवर्तन गर्ने भन्दै नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले निर्वाचित हुनासाथ अघिल्लो सरकारको पालामा करारमा नियुक्त गरिएका शिक्षकहरूलाई निष्कासन गरेका थिए ।
त्यसको प्रभाव के पर्छ भन्ने नसोची चालेको सो कदमका कारण पनि नगर क्षेत्रमा विभिन्न विषयको अध्ययन–अध्यापन झन्डै ९ महिना अवरुद्ध भयो । सवै शिक्षकहरूलाई एकै पटक निकालेका नगर प्रमुख क्षेत्रीलाई ३ महिना आन्दोलनको सामना गर्नुपर्यो भने पठनपाठन ठप्प भएपछि कतिपय विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थीलाई नै आन्दोलनमा उतारेका थिए ।
शिक्षकहरूको परिपूर्ति गर्न झन्डै ८ महिना लाग्यो भने पूर्ण रूपमा कक्षा सञ्चालन गर्न १ वर्ष लाग्यो । शिक्षकहरूको परिपूर्ति भए पनि रामो पढाइ भने हुन सकेन । परिणाम स्वरूप पढाइको गुणस्तर खुम्चिदै गयो, जुन पछिल्लो एसइईको परिणामले नै देखाउँछ ।