
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४/५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको बताएका हुन् ।
‘उर्जा मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि, बेढंग हो । ३/४ महिनामा सेवा निवृत्त हुने, ३/४ महिनामा सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, अनि त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ, किचकिच गरिरहेको जस्तो देखिन्छ । यस्ता कुराहरु ठीक होईन, उपयुक्त हुँदैन । यस्ता काममा कोही पनि मन्त्रीहरु लाग्न हुँदैन,’– उनले भने ।
उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कामको भने प्रसंशा गरे । अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए । विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा.देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको उनको दाबी छ ।
साथै, उनले तोकिएकै समयमा पार्टीको महाधिवेशन हुने बताए । २०८४ को निर्वाचनपछि अधिवेशन हुने भनेर भ्रम फैलाइएको भन्दै उनले यस प्रकारको हल्लामा नलाग्न आग्रह गरे ।