
धनुषा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन मुलुकमा रहेको वर्तमान व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभएको छ। राप्रपाले जनकपुरधाममा आयोजना गरेको बिरोधसभामा बोल्दै लिङदेनले वर्तमान संघिय लोतकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै उनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताउनुभयाे।
लिङदेनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालकालागि उत्तम व्यवस्था हुने बताउनुभयाे।उहाँले भन्नुभयो, 'यसका साथै संसदमा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरुलाई मन्त्री नहुने व्यवस्था लागु गर्नुपर्छ ।' सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उहाँले दावी गर्नुभयो। देशमा महँगी अकाशिएको छ, भ्रष्टाचार बढेको बढ्यै छ, लिङदेनले भन्नुभयो, ‘राजतन्त्र सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा संघिय व्यवस्था हटाए भ्रषटाचार आफै निर्मूल भएर जानेछ ।
’ लिङदेनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरुले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाउनुभयाे । लिङदेनले भन्नुभयो, ‘म आज जनकपुरधाममा छु, यो भूमि हिन्दु धर्माबलम्बीहरुकालागि पवित्र भूमि, यहाँका स्थानीयमा हिन्दु धर्म प्रति आस्था छ तर तपाईहरुकै मत लिएर यी राजनीतिक दलहरु तपाईकै धर्म बिरुद्ध लागेका छन् ।’ उहाँले भन्नुभयो, ‘कांग्रेस, एमाले, माओवादी तथा मधेसवादीदलहरुले तपाईको मतको प्रयोग तपाई कै धर्म बिरुद्ध गरिरहेका छन् ।
’ एक अर्को प्रसंगमा लिङदेनले भन्नुभयो ‘मधेसलाई यसअघि लाग्या होला सबै बिमारीको औषधी यो संघियता नै हो, तर होइन रहेछ यो भ्रम हो अब मधेसी जनताले पनि बुझिरहेका छन् ।’ उहाँले संघियता देशको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपाली नेपालीबीच विभाजनको फाटो हाल्ने अस्त्र रहेको आरोप लगाउनुभयाे ।