
महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिकाको खखना लोटना एसईई परीक्षा केन्द्रमा चिट चोराउने लगायतका अमर्यादित गतिविधि हुन थालेपछि सुरक्षाकर्मी थप गरिएको छ । अहिले यहाँ झ्यालमा जस्तापाता लगाएर बन्द गरिएको छ भने पर्खालभन्दा सय मिटर आसपास अवातजावतमा रोक लगाएको छ ।
परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि र कक्षा कोठामा प्रवेश गरेपछि शरीरमा जाँचलाई कडाइ बनाइएको छ ।
परीक्षा केन्द्रमै कम्प्युटर टाइप भएका फोटोकापी, गेसपेपर र चिटबाट चोरी भएको गुनासो आएपछि परीक्षा केन्द्रमा कडाइ गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताए । गणित विषयको परीक्षामा चोरी गराएको आरोपमा माध्यमिक विद्यालय बसबिट्टी बसन्तपुर रामगोपालपुरका केन्द्र अध्यक्ष र निरीक्षक र कार्यालय सहयोगीलाई कारबाही गरिएको उनको भनाइ छ ।
'परीक्षा केन्द्रमा मोबाइल प्रयोग त शून्य नै भएको छ,' उनले भने, ‘परीक्षा केन्द्रमा चलखेल गर्ने र परीक्षा अमर्यादित बनाउनेहरुको जिम्मेवारी खोसिएको छ ।’ परीक्षामा चोरी गराउँदै आएका र व्यवस्थापन गर्न नसक्ने केन्द्रका केन्द्राध्यक्ष र परीक्षा सञ्चालन गर्ने परीक्षा निरीक्षकलाई तत्काल परिवर्तन गरी एसईई मर्यादित बनाइएको उनले दाबी गरे ।
महोत्तरीका ३२ एसईई परीक्षा केद्रमा एकैसाथ अनुगमन टोलीले अनुगमनमा पुगेर कडाइ गरेपछि परीक्षामा सुधार आएको छ । महोत्तरीमा ११ हजार १ सय ६१ परीक्षार्थी सहभागी छन् ।