
महोत्तरी - मधेश प्रदेशका जिल्लाहरुमा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन बागमती सेवा समाजले अभियान थालेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका, व्यापारी र अन्य काम गर्नेहरुलाई सामाजिक सुरक्षा कोषबारे जानकारी गराउँदै कोषमा आबद्ध हुँदा पाउन सक्ने सुविधाको जानकारी गराउने अभियान थालिएको बागमती सेवा समाजका कार्यक्रम निर्देशक रामकृष्ण रायले बताए । आम्दनीको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरी तीन वर्ष शिक्षा तथा घर कर्जा र ७ लाखसम्मको नि:शुल्क उपचार गराउन पाउने व्यवस्थाबारे जानकारी गराउँदा अनौपचारिक क्षेत्रका श्रमिकहरु कोषमा आबद्ध हुन उत्साहित बनेको रायले बताए ।
आइतबार महोत्तरीको पिपरा र धनुषाको लक्ष्मिनिया गाउँपालिकामा सामाजिक सुरक्षा कोष जनकपुर र बागमती सेवा समाजको संयुक्त पहलमा एक दिने अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरण तथा आबद्धता कार्यक्रममा सहभागीहरुले कोषमा जोडिन थालिएको निर्देशक रायले बताए ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई राखेर अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आबद्ध गराउन पैरवी सुरु गरिएको सामाजिक सुरक्षा कोष जनकपुरका प्रमुख कैलाशकुमार यादवले बताए ।