
महोत्तरी - समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्ला समितिको विस्तारित बैठक जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षतामा सम्पन्न भएको छ। जसपा, नेपालका केन्द्रीय युवा, विद्यार्थी तथा खेलकुद विभागका उपप्रमुख कृष्ण शंकर साह प्रमुख आतिथ्यका रूपमा कार्यक्रममा सहभागी भएका थिए ।
महोत्तरी पार्टी कार्यालयमा सम्पन्न उक्त बैठकमा समाजवादी युवा संघ, नेपालका मधेस प्रदेश अध्यक्ष कमलेश यादव, उपाध्यक्ष सरोज चौधरी, जसपा नेपालका जिल्ला उपाध्यक्ष शिवचन्द्र साह तथा संघका अन्य पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।
बैठकमा आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन्। उपस्थित नेताहरूले महाधिवेशन सफल बनाउन आवश्यक रणनीति, संगठनात्मक सुदृढीकरण तथा कार्ययोजनाका विषयमा छलफल गरेका थिए।
कार्यक्रममा सहभागी नेताहरूले समाजवादी युवा संघलाई अझ सक्रिय, प्रभावकारी र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, स्थानीय स्तरमा युवा सहभागिता बढाउने र संगठनलाई बलियो बनाउने विषयमा विशेष छलफल गरिएको थियो।
बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनलाई थप गतिशील बनाउने निष्कर्ष निकाल्दै कार्यक्रम सम्पन्न गरिएको थियो।