
जनकपुरधाम। वैदेशिक रोजगारीको नाममा युवाहरूलाई ठगी गर्दै अवैध अन्तर्वार्ता सञ्चालन गरिरहेको सूचनाको आधारमा जनकपुरधामस्थित दुई तालिम केन्द्रमा प्रहरीको टोलीले छापा मारेको छ ।
रामानन्द चोकमा रहेको ‘पीआइटी तालिम केन्द्र’ र ‘गल्फ तालिम केन्द्र’मा बिहीबार बिहानै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले एकैसाथ छापा मारेको हो ।
प्रहरीले ती केन्द्रहरूबाट तीन दर्जनभन्दा बढी राहदानी (पासपोर्ट) तथा विभिन्न कागजातहरू बरामद गरेको जनाइएको छ । प्रत्यक्षदर्शीहरूको अनुसार प्रहरीको एउटा भ्यान केन्द्रहरूमा पुगेर अवैध रूपमा भेला गरिएका दस्तावेज तथा सामग्री नियन्त्रणमा लिएको थियो । साथै, तालिमको नाममा त्यहाँ उपस्थित सेवाग्राहीहरूसँग पनि सोधपुछ गरिएको छ ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भूवनेश्वर तिवारीले भने उक्त छापा सम्बन्धी कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ‘सोधपुछका लागि टोली गएको हुन सक्छ,’ उनले भने, ‘तर, छापा भन्ने जानकारी मसँग छैन ।’
प्रहरी स्रोतका अनुसार ती तालिम केन्द्रहरूले वैदेशिक रोजगार विभागको निर्धारित मापदण्ड विपरीत कार्य गर्दै आएका थिए । सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरू मार्फत ‘आकर्षक तलब’, ‘तत्काल टिकट’, ‘सिधा कामको ग्यारेन्टी’ जस्ता भ्रमपूर्ण प्रचार गरी युवाहरूलाई आकर्षित गर्ने र अन्ततः अवैध अन्तर्वार्तामा सहभागी गराउने काम भइरहेको थियो ।
त्यस्ता गतिविधिबाट प्रलोभनमा परेका धेरै स्थानीय युवा ठगीमा परेको उजुरीहरू पनि बढ्दै गएका छन् । राहदानीहरू संकलन गरेर अनुमति विना अन्तर्वार्ता सञ्चालन गर्नु तथा वैदेशिक रोजगार प्रक्रियालाई अवैध ढंगले अघि बढाउनु पूर्ण रूपमा गैरकानुनी कार्य हो । यस्ता कार्यविरुद्ध स्थानीय प्रशासन र प्रहरी कार्यालयको उदासीनताप्रति पनि चौतर्फी आलोचना हुन थालेको छ ।
यस्ता गैरकानुनी गतिविधिहरूको नियन्त्रणका लागि प्रशासनले अझ सशक्त कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । जनकपुरधाममा सक्रिय तालिम केन्द्रहरूका नाममा सञ्चालन भइरहेका रोजगार माफियाहरूको सञ्जाल अझ गहिरो छानबिनको विषय बनेको छ ।
स्थानीय बासिन्दाहरू र सामाजिक अभियन्ताहरूले प्रशासनसँग ती केन्द्रहरूको पृष्ठभूमि, सञ्चालकहरूको पहिचान र सम्पर्कमा रहेका अन्य व्यक्ति वा संस्थाहरूको समेत विस्तृत अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।-टुडेआवाज