
सर्लाही - बागमती नगरपालिका–२, जिरायतमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बागमतीको पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकलका चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका-२३ वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दुवै मोटरसाइकलका चालकलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा बा. ५६ प ५२६ नम्बरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको बिसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् ।
उनीहरूलाई बागमतीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको छ ।