सन्तोष सिंह,महोत्तरी - जनप्रतिनिधिको स्वार्थ पूर्ति नहुँदा स्थानीय तहको बजेट र नीति तथा कार्यक्रममा द्वन्द्व चर्केको छ । बजेट बाँडफाँटको सहमति हुँदा कतै भव्य र तामझामका साथ स्थानीय तहको बजेट सार्वजनिक गरेका छन् त कतै मञ्चमै हात हालाहालको अवस्था आएको छ ।
सोमबार मनराशिसवा नगरपालिकाको १४ औं नगरसभामा नगर प्रमुख मोहन पाण्डेयले आर्थिक वर्ष ०८२/८३ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले विरोध जनाउँदै होहल्ला गरे । केहीबेर सभा अवरुद्ध भयो । उद्घाटन सत्रमा सबैजना सहभागी भएर बन्द सत्रमा आफ्नो धारणा राख्न नगर प्रमुख पाण्डेयले आग्रह गरे । तर असन्तुष्ट जनप्रतिनिधिको आक्रोश झन् बढ्यो ।
नगरपालिकाको सभा कक्षमा आयोजित नगरसभाको मञ्चमा पुगेर होहल्ला गर्न खोजेकाहरुलाई नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी सभाहलबाट बाहिर निकालेर मात्रै कार्यक्रम अगाडि बढ्यो ।
नगरसभा गर्न पूर्वप्रकाशित सूचनाअनुसारको कार्य वा छलफल नगरी कानुन मिचेर जबरजस्ती सभा र नीति तथा कार्यक्रम आयोजना भएको भन्दै ६ जना वडाध्यक्ष सहित ३० जना नगरसभा सदस्ययले विरोध गरेका थिए । अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम कानुनबमोजिम कार्यन्वयन नगरेको र आउने आर्थिक वर्षको बजेट नीति तथा कार्याक्रको प्रक्रिया पूरा नगरेकाले बहुमत नगरसभा सदस्यले सभा स्थगित गरी छलफल गर्न माग गर्दा पनि नगर प्रमुख पाण्डेयले अटेर गरेको वडा नं. ९ का वडाध्यक्ष शशिभूषण झाले बताए ।
उता, गाउँसभाको उद्घाटनमा महोत्तरी गाउँपालिकाका वडाध्यक्षहरुले पनि अध्यक्षले मनोमानी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याएको, पछिल्लो वर्ष बजेट सञ्चालनमा अनियमितता भएको भन्दै विरोध गरेका छन् ।
सोनमा गाउँपालिकामा उपप्रमुख जहिदा खातुन, ३ जना वडाध्यक्षसहित ७ जनाले गाउँसभाको विरोध गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम हुनुपर्ने भए तापनि वडा भेला, योजना छनोट र विभिन्न समितिको बैठक नगरी गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले ल्याउन लागेको बजेट, नीति तथा कार्यक्रम रोक्न ज्ञापनपत्र बुझाएको वडा नंं १ का अध्यक्ष अशोककुमार यादवले बताए । साेनमामा गत वर्ष पनि विवाद हुँदा प्रहरीकाे घेराभित्र नगरसभा गरिएकाे थियाे ।
महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी, मनराशिसवा, रामगोपालपुर, लाेहारपट्टी नगरपालिका, एकडारा, पिपरा, सम्सी, महोत्तरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट र नीतिा तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बलवा, औरही, सोनमा र गौशाला लगायतका स्थानीय तहले बजेट ल्याउने तयारी गरेका छन् ।




