
सप्तरी - सप्तरीका १३ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि तोकिएको समयभित्र बजेट ल्याउन सकेको छैनन् ।
यहाँ चार पालिकाले अझैसम्म नगर/गाउँ सभाका लागि प्रक्रिया नै सुरु गरेका छैनन् भने ९ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेर पनि बजेट ल्याउन सकेका छैनन् ।
राजविराज, डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकाले सभाका लागि प्रक्रिया नै सुरु गरेको छैन । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा भने सोमबार गाउँसभा बोलाउँदा पनि सभाका सदस्य नै उपस्थित भएनन् । खडक र शम्भुनाथ नगरपालिका तथा तिरहुत, महादेवा, विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा केही दिनअघि नै सभा उद्घाटन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट ल्याउने विषय टुंगो लागेको छैन । सुरुङ्गा, सप्तकोशी र कञ्चनरुप नगरपालिकाले सभा जारी भएपनि राति ८ बजेसम्म पेस गर्न सकेको छैन ।
यहाँका एक नगरपालिका र चार गाउँपालिकाले ल्याएको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । बोदे बरसाइन नगरपालिका तथा बलान बिहुल, तिलाठी कोइलाडी, रुपनी र राजगढले तोकिएको समयमित्र बजेट ल्याएका छन् । बोदे बरसाइन नगरपालिकाले ९२ करोड २१ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको छ । यो नगरपालिकाले कृषि, रोजगार, स्वास्थ्य, शिक्षा, तथा विपन्न लक्षित बजेट ल्याएको हो । बलान बिहुल गाउँपालिकाले पनि आगामी वर्षका लागि ५४ करोड ३८ लाख २८ हजार रुपैयाँ बजेट ल्याउँदा कृषि र रोजगारलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाले ४३ करोड ८४ लाख १९ हजार रुपैयाँ, रुपनी गाउँपालिकाले ४८ करोड ५५ लाख ४३ हजार ४ सय ३१ रुपैयाँ तथा राजगढ गाउँपालिकाले पनि आगामी वर्षका लागि ४९ करोड १५ लाख ७७ हजार ६ सय ६३ रुपैयाँ बजेट ल्याउँदा कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ ।