काठमाडौँ – मुलुकभरि बर्खे धान रोपाइँ सुस्त गतिमा अघि बढिरहेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म जम्मा १२ दशमलव ३३ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको छ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब १४ लाख हेक्टरमा बर्खे धान रोपाइँ हुने अनुमान गरिएको छ। तर अहिलेसम्म १ लाख ७२ हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।
प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ४५ दशमलव ४९ प्रतिशत रोपाइँ सम्पन्न गरेको छ। त्यसपछाडि कर्णाली प्रदेश २० दशमलव ११ प्रतिशत, बागमती २० दशमलव ५३ प्रतिशत, गण्डकी १३ दशमलव ७९ प्रतिशत, लुम्बिनी ९ दशमलव ६६ प्रतिशत र कोशी प्रदेश ५ दशमलव ९६ प्रतिशतमा सीमित छन्।
तराई–मधेशका अधिकांश भूभागमा अझै रोपाइँ शुरू हुन सकेको छैन। मनसुन जेठ १५ गते भित्रिसकेको भए पनि मधेश प्रदेशमा रोपाइँको काम सुरु नभएको कृषि केन्द्रको भनाइ छ।
असार १५ गतेपछि रोपाइँले गति लिने विगतको अनुभव छ। कृषि विज्ञहरूका अनुसार मल, पानी र मौसम अनुकूल भए धान रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको छ।
यही सन्दर्भमा आउँदो आइतवार, असार १५ गते २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको छ। ‘धान बालीमा सघनता ः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइने उक्त दिवसले किसानहरूलाई प्रेरित गर्ने र धान उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको घोषणालाई बल पु¥याउने अपेक्षा गरिएको छ।
गत वर्ष मनसुन र मलको आपूर्ति सहज भएपछि हालसम्मकै उच्च उत्पादन — ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। त्यसलाई दृष्टिगत गर्दै सरकारले आगामी दुई वर्षभित्र देशलाई धान र चामलमा आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरिसकेको छ।
तर हालको रोपाइँ प्रगति हेर्दा त्यो लक्ष्यमा समयमै पुग्न चुनौती देखिएको कृषि विज्ञहरूको भनाइ छ। मनसुन सक्रिय भए पनि अझै रोपाइँमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।


