
महोत्तरी - महोत्तरीको सम्सी गाउँपालिकामा व्यापक भ्रष्टाचार, अनियमितता, बजेटको दुरुपयोग र स्थानीय मागको बेवास्ता भएको आरोप लगाउँदै शुक्रबार स्थानीय नागरिक समाजले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
स्थानीय बुद्धिजीवी, व्यापारी, विद्यार्थी, महिला तथा युवाहरूको सहभागितामा भएको आन्दोलन सम्सी–७ बस्ने बलराम यादवको नेतृत्वमा सुरु गरिएको हो। आन्दोलनकारीहरूको भनाइमा अनुसार, गाउँपालिका अध्यक्ष, कार्यकारी अधिकृत र वडाध्यक्षहरूको मिलेमतोमा विभिन्न विकास योजनामा व्यापक आर्थिक हिनामिना हुँदै आएको छ।उनीहरूले हाल निर्माणाधीन श्री जनता माध्यमिक विद्यालयको कम्पाउन्ड भित्र शौचालय र वालबार निर्माणका लागि विनियोजित ४० लाख रुपैयाँ बराबरको बजेटमा गुणस्तरहिन निर्माण सामग्री – २ नम्बर इँटा, कमसल सिमेन्ट प्रयोग गरी काम भइरहेको आरोप लाए।

जनप्रतिनिधिहरूले योजना पारदर्शिता सुनिश्चित नगरी, सूचना बोर्ड (होडिङ्ग बोर्ड) नझुन्ड्याई जथाभावी ढंगले विकास योजना सञ्चालन गर्दै आएको आरोप लगाइएको छ। स्थानियले बताए अनुसार गाउँपालिकाले वर्षभर कुनै ठोस काम नगरी अषाढ लाग्नासाथ योजनाहरू तिब्र गतिमा अघि बढाइरहेको छ, जुन कार्यहरू गुणस्तरीय नहुँदा जनसरोकारमा गम्भीर असर परेको छ। गाउँपालिका अध्यक्षले व्यक्तिगत लाभ र पार्टीपंक्तिका कार्यकर्तालाई फाइदा पु-याउने उद्देश्यले योजनाहरूको दुरुपयोग गरेको उनीहरूको दाबी छ। ट्रान्सफर्मर खरिदमा समेत अनियमितता देखिएको, सार्वजनिक सम्पत्ति अतिक्रमण गरी आफ्ना नजिकका सहयोगीहरूलाई घर बनाउन सघाइएको र योजनाको नाममा नगद उठाएर दुरुपयोग गरिएको बताइएको छ।

यसबारेमा पटक–पटक गाउँपालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै नागरिक समाजले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ। सम्सी–७ निवासी राजेश यादवले चेतावनी दिँदै भने, “यदि तत्काल समस्याको समाधान नगरिएमा अझ गम्भीर र सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।

”खानेपानी पाइप वितरणदेखि अन्य पूर्वाधार निर्माणसम्मका कार्यमा व्यापक अनियमितता देखिएकाले आन्दोलनकारीहरूले सम्सी गाउँपालिकाको सबै योजना र बजेट कार्यान्वयनमा निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।


प्रेस विज्ञप्ति


