महोत्तरी - जनता समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न माग गर्दै ६ वटा राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा उनीहरूले सर्लाहीका प्रहरी प्रमुखमाथि जातीय पूर्वाग्रहका आधारमा दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
विज्ञप्तिअनुसार यादवले सरकारी कार्यालयहरूमा व्याप्त लुटतन्त्र, भ्रष्टाचार र मनोमानीविरुद्ध निरन्तर आवाज उठाउँदै आएका कारण योजनाबद्ध ढंगले प्रहरीले उनीमाथि झूटा मुद्दा लगाएर अपमानजनक व्यवहार गरेको उल्लेख छ। सर्लाही प्रहरी प्रमुखको जातीय विभेदपूर्ण व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, “अशोक यादव मधेसी भएकै कारण उनीप्रति प्रहरी प्रमुखले हेयपूर्ण व्यवहार गरेका छन्।”
छ वटा राजनीतिक दलहरूले संयुक्त रूपमा जारी विज्ञप्तिमा यादवमाथि लगाइएको मुद्दालाई षड्यन्त्रपूर्ण र निराधार भन्दै तुरुन्त खारेज गर्न माग गरिएको छ। साथै जिल्ला प्रहरी प्रमुख खड्कामाथि छानबिन समिति गठन गरी कानुनी कारबाही प्रक्रिया थाल्न जोड दिइएको छ।
विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, “यदि प्रहरी प्रशासनभित्र गढिएको नश्लीय सोच र विभेदकारी प्रवृत्तिको अन्त्य नभए हामी कडा सडक संघर्षमा उत्रन बाध्य हुनेछौं।”
संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी सर्लाही अध्यक्ष शम्भु प्रसाद यादव, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जितेन्द्र कुमार साह, प्रदेश सदस्य शिव पुजन राय, जसपाका जिल्ला प्रतिनिधि सजिव यादव, जनमत पार्टीका जिल्ला सचिव मिथलेश यादव र लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष दिलिप कर्णका हस्ताक्षर छन्।
विरोधमा उत्रिएका दलहरूमा जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी रहेका छन्।





