चन्दन दुवे
संविधान संसोधन र कार्यान्वयनमा देखिएका समस्याहरुको कारण नेपाल अन्योलको जालोमा फंसेको देखिन्छ ! दलहरु बिच अविश्वास को संकट र सत्ताको हानथापको अस्वस्थ प्रतिस्पर्धा चाल्दैछ ! हालको नेपाली राजनीतिलाई सूक्ष्म अध्ययन गरियो भने महाभारतका दृश्यहरु मानसपटलमा खेल्नथाल्छन ! "महाभारत" जसमा एउटै गद्दीको लागि भाईले भाईलाई, मित्रले मित्रलाई र नातेदारले नातेदारलाई "घात" लगाईरहेका हुन्छन ! कोही कसैको हुँदैनन सब अवसर र गद्दीको खोजिमा हुन्छन ! आ - आफ्नो निहित स्वार्थ र सत्ताको लागि बंधु बांधव र देश का सारा जनतालाई बली चढ़ाईरहेकाहुन्छन ! हाम्रो प्यारो देश नेपालमा पनि राजनीतिक अवस्था त्यस्तै छ ! कोही कसैप्रति ईमानदार छैन ! जनता प्रति कसैको वफादारीता र उत्तरदायित्व देखिँदैन ! केवल सत्ता प्राप्तिको लोभ र असीमित महत्वकांक्षाले ग्रसित नेपाली राजनीतिमा राजनेताको आभाव स्पष्ट रुपमा हेर्नसकिन्छ ! देशमा विद्यमान रहेको आर्थिक, राजनीतिक, संवैधानिक र नीतिगत समस्याहरुको समाधानको उपाय भनेको के हुनसक्छ ? प्रश्नको जवाफ खोज्दैजांदा र देशले खोजेको निकास माथि चिन्तन गर्दैजाँदा, आफ्नै स्मरण र चेतना भित्र डुब्दैजांदा उपर्युक्त राजनीतिक संकटहरुको समाधान दिनसक्ने राजनेताको रुपमा दुई जना दाजुभाईको संस्मरण भेंटिन्छ ! एक चिन्तक, दूरदर्शी र वैचारिक अर्को दृढ, कटिबद्ध र स्वाभिमानी ! यस आलेखमा ती दुईजना दाजु भाई को क्रांति,विचार,योगदान र नेतृत्वशैलीको चर्चा गर्न आवश्यक रहेको छ !
" गिरिजा प्रसाद कोईरालाको नेतृत्वशैली "
कोईराला दक्षिण एशियाको सबै प्रजातान्त्रिक राष्ट्रहरु को नेताको रुपमा एउटा "टावरिंग पर्सनालिटी" हुन ! उक्त वाक्यांश भारतका पूर्व प्रधानमंत्री स्व.मनमोहन सिंहले ६ जून २००६ मा भारत भ्रमणमा पुगेका नेपालका प्रधानमंत्री स्व. गिरिजा प्रसाद कोईराला को सम्मानमा भनेका थिए !
भारतीय परम्परा र प्रोटोकॉल भन्दा फरक गएर स्व.सिंहले गिरिजा बाबूलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए ! अंतर्राष्ट्रीय स्तरमा नेपालको लागि यो घटना भनेको ठूलो सम्मानको विषय पनि थियो ! दक्षिण एशिया को राजनीतिमा त्यो व्यक्तित्व र एग्जिस्ट्यान्स थियो स्व. गिरिजा बाबूको ! आफ्नो विचार र निर्णय प्रति एकदम अडिग र प्रतिबद्ध रहेका कोईराला भने हालका नेताहरु जस्तो ढुलमुले र अवसरपरस्त थिएनन ! प्रजातंत्र स्थापना को लागि अत्यंत ईमानदारीपूर्वक लड़ेका कोईराला लोकतंत्र को स्थापना र संरक्षणको लागि पनि उत्ति नै दृढ संकल्पित थिए ! देश, लोकतंत्र, विकास र शान्ति स्थापना को लागि अनेकौँ पटक पार्टी र निजी हित दाऊमा लगाउने उहाँको नेतृत्वशैली को विशिष्टता थियो !
२००७ साल देखी ०६३ को राजनीतिक आंदोलनमा निरन्तर संघर्षरत रहेका गिरिजा बाबू कहिले पनि थाक्नु भएन ! देश र प्रजातंत्रको हितमा रिस्क लिने उहाँको बानीले, उहाँ विश्वको राजनीतिमा अग्लो कद स्थापित गर्न सफल भएका थिए !
नेपाल निर्माण तथा गणतंत्र स्थापनामा गिरिजा बाबूको योगदान अतुलनीय रहेको नेपाली राजनीतिका शीर्ष नेताहरुले पनि स्वीकार्ने गर्छन ! नेपाली कॉंग्रेस पूर्ण लोकतान्त्रिक पार्टी रकेकोले विचार र एजेंडाहरुमा विमत्ति
स्वाभाविक हो ! तर अनेकौँ विमत्ति र मतान्तर का बावजूद पनि देशहित मा आवश्यक निर्णय लिने र कार्यान्वयन गराउन सक्ने उहाँमा चमत्कारी क्षमता थियो !
उहाँ एक अविचलित क्रन्तिकारी थिए भने कुशल राजनेता पनि ! स्व.गिरिजा बाबूले २०४६ को प्रजातान्त्रिक आंदोलनमा अत्यंत महत्वपूर्ण भूमिका खेलेका थिए !
२०५८ पछिको राजा विरुद्धको आंदोलनमा उत्साहको कमी थियो ! निरंकुश ज्ञानेन्द्र शाह राजा थिए ! राजद्रोह लाग्ने डरले कार्यकर्त्ता आंदोलनमा आउन मन्दिन्नथे ! तर राजा ज्ञानेन्द्र शाहलाई उल्टो जनताद्रोह लगाउने उद्घोष गर्दै कोईरालाले उक्त आंदोलनमा उत्साह भरेका थिए !
२०३७ सालमा आममाफ़ी पाएर मात्र नेपाल प्रवेश गर्न पाएका स्व.गिरिजा बाबू कहिले पछाड़ी फर्केर हेर्नु भएन !
२०१५ सालको निर्वाचनमा चुनाव लड़ने अवसर पाएका गिरिजाबाबूले चुनाव छोड़ेर संगठन निर्माण तीर लाग्नूभएको थियो !
मानव जीवन गुण र दोषले भरिएको हुन्छ तर सानातिना विवाद बाहेक पूर्व प्रधानमंत्री कोईराला भने तुच्छ राजनीतिक स्वार्थ र व्यक्तिगत महत्वकांक्षा भन्दा माथि उठेर देश हितमा काम गरेको अनेकौँ उदाहरण छ !
२०५२ पछि नेपाल माओवादी जनयुद्धको निकासहिन संकटमा देखिनथालेको थियो ! हजारौँ निर्दोष नागरिक मारिए,लाखौँ विस्थापित भए कति अपाङ्ग भए का थिए! देश आक्रांत थियो, अशांत थियो ! तर तात्कालीन प्रधानमंत्री स्व.गिरिजाबाबूको अदम्य साहस र संकल्प भने निष्तेज भएन !
नेपाली कॉंग्रेसलाई परम् शत्रु मान्ने नेकपा माओवादीलाई सशस्त्र द्वन्दबाट स्व.गिरिजा कोईरालाले आफ्नो सूझबुझ र अडिगता का बलमा शान्तिवार्ता पछि सहमति को टेबलमा ल्याएका थिए ! " गोलीले तह लगाउन नसकिएका माओवादी लाई बोलीले तह लगाऊँछु " भन्ने दृढ निश्चयका साथ नेकपा माओवादीका नेताहरुलाई दिल्लीमा खोजेर वि.सं. ०६२ मंसीर ७ गत्तेमा १२ बुँदे समझौताको माध्यमबाट राष्ट्रिय राजनीतिको मुलधारमा ल्याऊन खेलेको भूमिकाले उहाँको राजनीतिक प्रतिष्ठा विश्वमै स्थापित हुन पुगेको थियो ! आज आएर उही नेकपा माओवादी संविधान, लोकतंत्र र लोकतान्त्रिक प्रक्रिया मान्न र संरक्षण गर्न बाध्य भएको छ !
प्रतिपक्ष र विरोधीहरु संग डील गर्न खप्पीस रहेका कोईरालालाई २०५० साल फाल्गुन ८ गत्ते प्रधानमंत्रीबाट हटाउन एमालेले अविश्वासको प्रस्ताव दर्ता गराऊँदा ०५० फाल्गुन २३ गत्ते भएको फ्लोर टेस्टमा ८१ को विरुद्ध ११३ सांसदहरुको समर्थनमा अझै बलियो प्रधानमंत्रीको रूपमा स्थापित हुनपुग्नुभएका थिए ! जम्मा ६ पटक प्रधानमंत्री बनेका उहाँ भने २०५४ चैत्र ३० गत्ते दोस्रो पटकको लागि सबैको साझा नेताको हैसियतमा प्रधानमंत्रीको रुपमा शपथ लिनुभएको थियो !
उहाँको मेहनत र कुशल नेतृत्वको बलमा २०५६ को आम निर्वाचनमा नेपाली कॉंग्रेसले स्पष्ट बहुमत ल्याउन सफल हुनसकेको थियो !
संसदको पुर्नस्थापना, संविधान सभाको निर्वाचन, सर्वदलिय सरकार र माओवादी संग वार्ता को चार बुँदे एजेंडाका साथ ०६० वैशाख २८ मा सुरु गरेको जनआंदोलन मा कमांडर गिरिजा कोईरालालाई नेकपा एमाले, जनमोर्चा, नेमकिपा, नेपाल सद्भावना पार्टीले समर्थन गरेको थियो भने उहाँले आफ्नो नेतृत्व कौशलको बलमा द्वन्दमा रहेका माओवादीलाई पनि सहभागी गराउन सफल भएका थिए !
अन्तिम आंदोलन त उहाँले ८३ वर्षको उमेरमा गर्नु भयो, भन्नुहुन्थ्यो प्रजातंत्रको लागि आउने पुस्तालाई आंदोलन गर्न नपरोस ! आफ्नो भनाई प्रति सदैव सतिशाल जस्तै अडिग उहाँले अन्तिम संघर्ष गर्दै ०६३ वैशाख ११ गत्ते प्रजातंत्रको पुनरस्थापना गराउन सफल पनि हुनु भयो ! अनेक विमत्तिमा पनि सहमति जुटाउने अद्भुत क्षमता र आफ्नो निर्णयमा चट्टानी अडिगताको पर्यावाची रहेका स्व. गिरिजाबाबूलाई पाँच दलले सघाएका थिए ! तर नायक को दृढ संकल्प र निष्काम साहस बिना कुनै पनि संघर्ष जित्न संभव हुँदैन !
०६३/६४ को जनआंदोलन पछि संविधान सभाको चुनाव पनि चुनौतीपूर्ण थियो ! ०६३ को जनआंदोलन र ०६४ को मधेश आंदोलनले गर्दा देश अशांत थियो ! तर क्रन्तिकारी इतिहास बोकेका कोईरालाले स्वार्थरहित समन्वयकारी भूमिका खेल्दै पहिलो संविधान सभाको निर्वाचन सम्पन्न गराउन सफल भएका थिए ! पहिलो संविधान सभा बाट पारित गणतंत्र स्थापना पनि स्व. गिरिजा प्रसाद कोईराला कै नेतृत्वमा संभव भएको हो ! अनेकता मा एकता र विमतीमा सहमति कायम गराउने उहाँको विशिष्ट शैली थियो जस्ले उहाँलाई सर्वमान्य राजनेताको रुपमा अंतर्राष्ट्रीय पहिचान दिलायो ! अहिले नेपालमा राजनीतिक सहमति टूटेको अवस्था छ ! दल र नेताहरु सत्ता सरकार र अवसर को खोजिमा मात्र व्यस्त रहेका छन ! दलहरुले विकास, सुशासन र देश र जनता प्रतिको उत्तरदायित्व डिलीवर गर्न सकेको छैन ! आजको नेपालले राष्ट्रिय सहमति खोजेको छ,दृढ र साहसी नेतृत्व खोजेको छ र उही स्व. गिरिजा प्रसाद कोईरालाको शैली खोजेको छ !
" बीपीको प्रजातान्त्रिक समाजवादको दृष्टिकोण "
समाजवादलाई विश्वको विभिन्न देशहरुले फरक फरक शैलीमा अपनाएको छ ! कतिपय मुलुकमा यसलाई राजनीतिक र आर्थिक प्रणालीको रुपमा अपनाइएको छ भने अन्य देशहरुले एउटा विचारधाराको रुपमा स्वीकार गरेको छ ! उत्पादन, वितरण र विनिमय को साधनहरुको स्वामित्व र नियंत्रण सामूहिकरुपले की त उपभोक्ता की जनताले चुनेको सरकारको जिम्मामा रहने प्रणाली भनेको समाजवाद हो ! वर्ग भेद घटाउनु, साधनस्रोतहरुलाई समानतापूर्वक वितरण गर्नु र सामाजिक समानतालाई पृष्ठपोषण गर्नु यस प्रणालीको मुख्य उद्देश्य हो !
भियतनाम र क्यूबा जस्ता देशहरुले समाजवाद लाई आर्थिक र राजनीतिक व्यवस्था को रुपमा स्वीकार गरेको छ भने भारत र पुर्तगाल जस्ता देशहरुमा यो एउटा विचारधाराको रुपमा रहेको छ !
चीनले समाजवादलाई फरक ढंगले अपनाएको देखिन्छ! अर्थव्यवस्थामा राज्यको महत्वपूर्ण दखल हुन्छ तर निजी क्षेत्र र बजार व्यवस्थालाई पनि स्वीकार गरिएकोछ !
चीनमा सामुदायिक स्तरमा स्वशासनको पद्धति पनि छ भने चिनियाँ समाजवाद भनेको एक विकासशील अवधारना हो र यसको व्याख्या र कार्यान्वयन समयानुकूल परिवर्तन भई रहन्छ !
नेपालमा रहेको लगभग प्रत्येक राजनीतिक दलले समाजवाद भन्ने शब्दलाई मूल नाराको रुपमा उद्घोष गरेको छ ! " समाजवाद प्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रको निर्माण गर्ने " भन्ने कुरो संविधानको प्रस्तावनामै उल्लेख गरिदिएपछी त्यस विषयमा तर्क वितर्कको आवश्यकता देखिएन ! तसर्थ नेपालले समाजवाद स्वीकार गरि सकेकोको कुरा अकाट्य हुनपुग्यो ! संविधानमा "समाजवाद" भनिए पनि व्यवहारमा भने समाजवादको अभ्यास भई राखेको देखिदैन ! समाजवादको मूल उद्देश्य भनेको सबै प्रकारको शोषण, अत्याचार, विभेद र अन्यायको अंत्य गर्नु हो ! पूँजीवादको सट्टामा गरीब, मज़दूर, किसान र सर्वहारा वर्गलाई समानताको आधारमा सुविधा उपलब्ध गराउनु हो ! नागरिकले पाउने सामाजिक र आर्थिक सुरक्षा, समानता र न्यायपूर्ण व्यवस्था नै समाजवादको आधार हो ! समाजवादी राज्यको व्यवस्था गर्न एउटा सुनियोजित अर्थव्यवस्था पनि लागु गर्नु पर्ने हुन्छ ! तर नेपालमा समाजवादको बहसले विषय प्रवेश नै गर्न सकेकोछैन ! संविधानले परिकल्पना गरेको समाजवादको ढांचा र स्वरुप कस्तो हुनेहो भने दलहरूले बहस गर्नु र त्यसको निष्कर्ष अनुसारको समाजवाद लागु गर्नु पर्ने आजको आवश्यकता छ !
तर दुर्भाग्य के छ भने नेतृत्वको कुशलताको आभावमा यस विषयमा राष्ट्रिय सहमति जुट्न नसकेको अवस्था छ ! कॉंग्रेस सहितका प्रजातान्त्रिक दलहरुले लोकतान्त्रिक समाजवादको वकालत गर्दैछन भने नेकपा एमाले सहितका कम्युनिस्ट पार्टीहरु भने जनवादी समाजवादको पक्षमा देखिएका छन ! नेकपा एमालेले २०७८ को राष्ट्रिय महाधिवेशन बाट पारित गरेको राजनीतिक दस्तावेजको नारामा " दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ " भनेको छ र जबज को अवधारणामा समाजवादको आधार निर्माण गरौँ भनि घोषणा गरेको छ ! तर "संगठित अराजकता र अवसरवादिताको" चरित्र प्रदर्शित गरिरहने नेकपा एमाले आफै नै "जनवादी समाजवाद" के हो भन्ने विषयमा अन्योलमा छ !
हुन त हामी प्रजातान्त्रिक अभ्यासमा छौँ ! सबैको आ आफ्नो वैचारिक अभिव्यक्ति को स्वतंत्रता छ ! तर पनि स्वतंत्रता चाहीं स्वेच्छाचारितामा परिनत हुनु श्रेष्कर हुँदैन ! नेपालमा स्वतंत्रताको नाममा अश्विकारोक्तिको ठूलो संकट छ !
छिमेकी मुलुक भारतमा अहिले भारतीय जनता पार्टीको सरकार छ ! केहि मामिलामा सरकार पक्षधरहरुले महात्मा गाँधीका निर्णय र दर्शनहरुको आलोचना गरिरहेका हुन्छन ! तर समाजवाद लाई परिभाषित गर्दा राम मनोहर लोहिया, जय प्रकाश नारायण र गाँधी कै दृष्टिकोण र परिकल्पनालाई भारतमा स्वीकार गरेको देखिन्छ ! अब नेपालमा समाजवादको कुरा गर्दा नेपाली राजनीतिका सर्वोच्च हस्ती स्व. बिशेश्वर प्रसाद कोईरालाको नाम न लिईकन यो आलेखले पूर्णता पाउने सम्भव छैन !
हुन त नेपालका कम्युनिस्ट तथा अन्य समाजवादी आवरणमा रहेका नेताहरुले मार्क्सवादी समाजवाद वा जनवादी समाजवादको जति चर्चा गरेपनि कुनै स्पष्ट खाका दिनसकेका छैनन ! ऊनिहरु केवल तर्क को लागि फरक मत राख्ने गरेको देखिन्छन !
हुन त बीपी कोईराला पनि मार्क्सको समाजवाद बाट नै प्रभावित देखिन्छन ! तर बीपीले प्रजातान्त्रिक समाजवादको वकालत गरेकाछन ! बीपीको नज़रमा नेपाल एउटा गाउँ हो र गाउँको विकासबाट नै नेपालको विकास सम्भव हुनसक्छ बीपीले भनेकाछन ! गाउँको वस्तीबाट सर्वांगीण विकासको शंखनाद गर्नुपर्छ, बीपीले भने अनुसार प्रजातान्त्रिक समाजवादको परिभाषा भनेको यही हो ! बीपीको नज़रमा प्रत्येक योजना र कार्यक्रमहरु उपभोक्ताहरु बाट संचालन गराउने,गाउँ स्तरका विपन्न र मजदूर वर्गलाई प्रोत्साहन, संरक्षण र सशक्तिकरण गर्न सहकारिता र विकेन्द्रीकरणका आयोजनाहरुलाई संचालन गर्ने ! राष्ट्रियस्तरका ठुला पूँजीपतिहरुलाई संलग्न गराएर खुला आर्थिक प्रणाली को आधारमा साना उधमी र व्यापारीहरुलाई पनि स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार पार्न सरकारबाट आवश्यक सहयोग जुटाईदिनुपर्ने ! उपल्लो वर्गबाट समाजको तल्लो वर्गको शोषण हुन न दिन र स्वदेशी उत्पादनको लागि नेपाली उधमीको संरक्षण पनि प्रजातान्त्रिक समाजवादको अभ्यास नै हो !
बीपीले व्याख्या गरेअनुसार नागरिकहरु बिचको आर्थिक, राजनीतिक र सामाजिक समानता को आधारमा मानिसको सर्वांगीण विकास भनेको प्रजातान्त्रिक समाजवाद हो !
नेपाल किसानहरुको बाहुल्यता भएको एउटा गरीब देश हो ! जून व्यवस्थाले गाउँलाई चिनेको छ, गाऊंले जीवनको अवस्था बुझको छ र त्यसको भलो गर्ने नीति दिएको छ र जग्गाको स्वामित्व काम गर्ने किसानलाई दिने नीति लिएकोछ त्यो भनेको बीपीको प्रजातान्त्रिक समाजवादको परिकल्पना हो !
प्रथम र द्वितीय विश्वयुद्ध समाप्त भए पछि सन् १९५० पश्चात् विश्वको राजनीति एकदलीय अधिनायकवादी साम्यवादी व्यवस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्था गरी दुई खेमामा विभाजित भएको थियो ! यस दुई व्यवस्था बिच रहेको द्वन्दको कारणले कतिपय देशहरुमा गृहयुद्ध पनि हुनपुगेको थियो ! उक्त व्यवस्थाहरुको कारणले समाजमा शान्तिको संकट खड़ा भएपछि समाजवादी व्यवस्था को मध्यमार्गी धार खड़ा भयो !
यस विचारधाराका प्रचारक रहेका ग्राहम बालाज र एच डी बेल्स इत्यादिले पूँजीवाद र साम्यवादको तालमेल गरेर समाजवादको नयाँ विचारलाई प्रचारमा ल्याएका थिए ! दोस्रो विश्वयुद्धपछि पुनर्गठन भएको सोसलिस्ट इंटरनेशनलले गरेको समाजवादको प्रचार प्रसारले विश्वभरिका धेरै देशहरुलाई प्रभावित गर्दैथियो !
महात्मा गाँधी, राम मनोहर लोहिया र जे पी नारायण पनि समाजवादबाट पूर्ण प्रभावित रहेको कारण
भारतको स्वतंत्रता संग्राममा पनि यस विचारधाराले नेतृत्व लिएको थियो ! सन् १९५२ जनवरीमा सोसलिस्ट इंटरनेशनल द्वारा आयोजित समाजवादी सम्मलेनमा वर्मा सहित भारत, नेपाल, इजराइल र जापान जस्ता देशहरु सहभागी थिए ! जसमा बीपी ले नेपालको प्रतिनिधित्व गरेका थिए ! आर्थिक समानता, राष्ट्रिय स्वतंत्रता र प्रजातन्त्रलाई मुख्य विषय बनाएको उक्त सम्मलेनबाट बीपी ज्यादै प्रभावित भएका थिए !
गाँस, बास र कपास सहित शिक्षा, स्वास्थ्य र रोजगार सहितको नागरिकको आवश्यकता पूर्ति गर्ने ! व्यक्तिको योग्यता र प्रतिभाको समानतामूलक सम्मान का साथ निजी अधिकार तथा गरीब वर्गका नागरिकलाई समान अवसरको व्यवस्थापन गर्नुपर्ने ! जातपात, धर्म, वर्ण, वर्ग र संस्कृतिको आधारमा भई रहेको विभेदलाई नियंत्रण गर्दै सामाजिक विविधताको आधारमा उचित सम्मानका साथ संतुलनमा राख्ने ! व्यक्तिगत महत्व र अस्तित्व को रक्षार्थ समन्वय, सद्भाव र परस्परता सहित सामाजिक न्यायको आधारमा समतामूलक समाजको निर्माण गर्नुपर्ने प्रजातान्त्रिक समाजवादको व्यवस्थाको पक्षधर थिए बिशेश्वर प्रसाद कोईराला !
प्रजातान्त्रिक राज्य व्यस्थाले मात्र समाजवाद प्रतिको दायित्व पूरा गर्ने बीपी को निष्कर्ष थियो !
२००७ सालको प्रजातान्त्रिक आन्दोलनको सँगै नेपालमा पनि समाजवादको को चर्चा सुरुभएको अध्ययनहरु बाट अवगत हुन्छ ! लोकतान्त्रिक आंदोलनको नेतृत्व गर्ने एकमात्र पार्टी नेपाली कॉंग्रेसले समजवादी दृष्टिकोण अघि सार्दै आएको थियो ! नेपाली कॉंग्रेसले यस दृष्टिकोणलाई मूल सिद्धांतको रुपमा स्वीकार्दै २०१२ को विरगंज अधिवेशन द्वारा जारी दस्ताबेज र घोषणापत्रमा यस विचारलाई सार्वजनिक गरेको थियो ! प्रजातान्त्रिक समाजवादी दृष्टिकोण र व्यवस्थाबाट मात्र सहज र द्रुत गतिमा मुलुकको विकास सम्भव हुनसक्नेमा बीपी स्पष्ट थिए ! बीपी कै नेतृत्वमा नेपाली कॉंग्रेस ले २०१३ सालमा सोसलिस्ट इंटरनेशनलको पूर्ण सदस्यता प्राप्त गरेको र हाल पनि त्यो सदस्यता कायम राखेको छ !
२०१५ सालमा बीपी नेपालको प्रधानमंत्री बनेपछि सरकारले समाजवादी नीतिअनुसार कार्यहरु अगाड़ी बढ़ाएको थियो ! बीपी नेतृत्वको सरकारले विर्ता र जमींदारी प्रथाको उन्मूलन, सुकुम्वासीहरुलाई जग्गा वितरण, मोहियानी अधिकार संरक्षण, शैक्षिक प्रगति अभियान र प्रशासनको आधुनिकीकरण जस्ता समाज सशक्तिकरणको अभियानको थालनी गरेको थियो !
बीपीका अनुसार जनताको जीवनस्तर उठाउन, आत्मनिर्भर, जगरूक र समर्थ बनाऊन राजनीतिक स्वतंत्रता र आर्थिक समानताको एउटा मात्र विकल्प भनेको प्रजातान्त्रिक समाजवाद हो !
सामन्ती भूस्वामित्व समाप्त गर्दै " जसको जोत उसको पोत " नीतिलाई व्यावहारिक रुपमा स्वीकार्दै कमैया र भूमिपतको द्वन्द अंत्य गर्नु , कृषिमुखी अर्थव्यवस्था लाई व्यवसायमुखी तर्फ लैजान ठाऊँ, प्रकृति, साधनस्रोत र क्षमताअनुसारको उद्योग व्यवसायलाई प्रोत्साहन गर्नु, शिक्षा र योग्यताअनुसारको रोजगार दिनु राज्यको दायित्व भित्र पर्दछ ! र सो दायित्वको पालन केवल प्रजातान्त्रिक समाजवादी सरकारले गर्न सक्ने बीपीको स्पष्ट दृष्टिकोण रहेको छ !
पूँजीवादी शोषणको अंत्य, विभेदमा परेका तथा पिछड़िएका समुदायको उत्थान, विकेन्द्रिकरण, उत्पाद वृद्धिका उपाय, मौलिक अधिकार, संसदप्रति उत्तरदायी सरकार र ईमानदार परराष्ट्रनीतिको पालना प्रजातान्त्रिक समाजवाद भित्रकै नीतिहरु हुन बीपीको तर्क थियो ! साम्यवाद भनेको प्रजातंत्र बिनाको समाजवाद नै हो त्यो नेपालको सन्दर्भमा साध्य छैन तसर्थ प्रजातान्त्रिक समाजवाद द्वारा नै नेपालको सर्वांगीण विकास संभव छ बीपी को स्पष्ट धारणा रहेको छ !
" निष्कर्ष "
तर नेपालको हकमा दुर्भाग्यपूर्ण के छ भने नेपाल मात्रले होईन की सारा विश्वले साहित्यकार, विचारक, राजनीतिक चिंतक र नेता स्वीकारेको "बीपीले" दिएको प्रजातान्त्रिक समाजवादको दृष्टिकोणलाई नेपाली कॉंग्रेसले पनि पूर्णरुपले अवलम्बन गरेको देखिँदैन ! वास्तवमा कुरा गर्ने हो भने यस विषयमा बहस नै सुस्त भईसकेको देखिन्छ ! यधपी नेपालको स्थायी शान्ति, सुशासन, विकास, राजनीतिक समस्याको समाधान, संविधान संसोधन तथा कार्यान्वयन र आर्थिक सशक्तिकरणको लागि बीपीले दिनुभएको प्रजातान्त्रिक समाजवाद भन्ने दृष्टिकोणको विकल्प छैन !
तर त्यो दृष्टिकोण, प्रणाली र नीतिहरु कार्यान्वयनको लागि सरकारमा स्व.गिरिजा प्रसाद कोईरालाले दिनुभएको जस्तै स्वाभिमानी दृढ र सशक्त नेतृत्व चाहिन्छ ! देशमा राजनीतिक दलहरुको बिचमा सहमति भंग भएको अवस्था छ ! यस अविश्वासको वातावरणलाई अन्त्य गर्न अनेकौँ विमत्तिमा सहमति खोजेर नेपाललाई अस्थिरता र राजनीतिक अन्योल बाट निकास दिन निश्चय पनि गिरिजा बाबू जस्तो राष्ट्रिय स्तरको दूरदर्शिता,अडान, सशक्त नेतृत्वशैली र राजनीतिक सूझबूझ तथा कुशलताको आवश्यकता छ !




