रौतहट – रौतहटको माधवनारायण र कटहरिया नगरपालिकामा बुधबार खेतमा पानी तान्ने मोटरबाट सिँचाइ गर्न लाग्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ।



करेन्ट लागेर गम्भीर घाइते भएका मुखियालाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइएको थियो । अस्पताल पुगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक मुखियाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए।
यसैगरी, कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवान सिंचाइका लागि विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते देवानलाई उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकको शव पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल पठाइएको छ । प्राधिकरणको लापर्बाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुने घटना मधेश प्रदेशमा बढिरहेका छन् ।




