महोत्तरी - बढ्दो गर्मी र घट्दो भू-जलका कारण उत्पन्न भएको जल संकटलाई ध्यानमा राख्दै मटिहानी नगरपालिकाले आजदेखि प्रत्येक वडामा वारुण यन्त्र प्रयोग गरी पानी वितरण कार्य सुरु गरेको छ।

यस कार्यको औपचारिक शुरुवात मटिहानी नगरपालिका वडा नं. ५ अन्तर्गत गोबरौरा क्षेत्रबाट गरिएको हो। पानी वितरण कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त वारुण यन्त्र टोली, नगर प्रहरी तथा सम्बन्धित वडाका नेपाल प्रहरीका सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको छ।

वारुण यन्त्र टोलीका प्रमुख राकेश यादवका अनुसार अभियान अन्तर्गत नगरका सबै वडामा गाउँ–गाउँ पुगेर सुरक्षित र पर्याप्त मात्रामा खानेपानी आपूर्ति गरिनेछ।

नगर प्रमुखसहित अन्य सरोकारवालाहरूले यस पहलले नगरवासीको दैनिक जीवन सहज बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

साथै, मटिहानी नगरपालिकाले नागरिकहरूलाई संयमता अपनाउँदै आवश्यकता अनुसार मात्र पानीको उपयोग गर्न पनि आग्रह गरेको छ।




