जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रका हिन्दू समुदायले मनाउने भाइबहिनीको प्रेम र सुरक्षा समर्पित महत्वपूर्ण पर्व रक्षाबन्धन यस वर्ष श्रावण २४ गते, शनिबार मनाइने भएको छ। धार्मिक मान्यता अनुसार, रक्षाबन्धनका दिन बहिनीले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै राखी बाँध्ने परम्परा छ। ज्योतिषाचार्य पण्डित अमित झाका अनुसार, रक्षाबन्धनको शुभ साइत बिहान ७:१८ देखि दिउँसो १:४७ बजेसम्म रहनेछ। यस अवधिमा राखी बाँध्दा शुभ फल प्राप्त हुने विश्वास छ।
उक्त समयमा पनि सबैभन्दा उत्तम साइत बिहान ८:३० देखि ९:३० सम्म रहने बताइएको छ भने, अभिजित मुहूर्तमा राखी बाँध्न चाहनेहरूले बिहान ११:३० देखि १२:३० सम्मलाई विशेष रुपमा उपयोग गर्न सक्नेछन्। मिथिला संस्कृतिमा रक्षाबन्धनले सामाजिक र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउने माध्यमको रूपमा महत्व राख्ने हुँदा यस पर्वको तयारी अहिले विभिन्न ठाउँमा सुरु भइसकेको छ।







