महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यावसायिक र आधुनिक बनाउने कार्यक्रम सरकारले अघि सारेको बताएका छन्।शुक्रबार प्रधानमन्त्री ओलीले महोत्तरीमा रघुनाथपुर–सुन्दरपुर कालोपत्रे सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कृषि आधुनिकीकरण परियोजना शुरू गरेको जानकारी दिए।
उनले भने, “हाम्रो देश कृषि प्रधान देश हो । साठी प्रतिशत जनता कृषिमा आधारित रहेकोले जनतालाई आधुनिक बनाउन र कृषिक्षेत्रलाई विकसित नगरी नहुनेमा जोड दिँदै उनले कृषिमा आधुनिकीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण नामलाई हटाउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम राखेको बताए ।उनले कृषिलाई आधुनिकीकरणको नाममा मेयर कृषि, उपमेयर कृषि, मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता नामलाई हटाउँदै प्रदेश कृषि आयोजना, पालिका कृषि आयोजना जस्ता नामाकरण गर्न आग्रह समेत गरे ।




हरेक क्षेत्रमा हामीले विकास गर्दै आएकोमा जोड दिदै उनले कृषि, उद्योगको क्षेत्रमा आधुनिकीकरण गर्दै जाने विश्वास समेत दिलाए ।उनले पैसाले मात्रै विकास नभई सोचले विकास हुने भएकोले सोच, वुद्धि लगाएर विकास गर्न सरोकारबाला निकायलाई निर्देशन समेत दिए।केही दिन अगाडी महोत्तरीमा सुख्खाग्रस्त अवस्थाबारे बुझन आएको वताउदै अहिले गरा गरामा पानी पुगेको अवस्था र रोपाईको अवस्था देखेर खुशी लागेको बताए ।
उनले भने, “सुख्खाग्रस्त हुन नदिन पहिला नै हामीले सुनकोशीको पानी टनेल मार्फत मरिनमा झार्ने र त्यहाँको पानी बागमतीमा झारेर एक करोड ५० बिग्हा क्षेत्रफलमा सिंचाई पुरयाउने काम भइरहेको छ ।”अहिले तत्कालका लागि डिप बोरिँगबाट समस्या समाधान गर्ने प्रयास भइरहेको छ भने पुरानो नचलिरहेको डिप बोरिँगलाई मरम्मत सम्भार गरि संचालन ल्याउन समेत आफुले निर्देशन गरिसकेको बताउदै मधेशलाई सुख्खाग्रस्तबाट बचाउन सरकार लागेको बताए ।
प्रधानमन्त्री ओलीले जनताको विकास चाहना मर्न नदिइने बताउदै उनले भने, “सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ। मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।” मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उनको भनाइ छ ।
प्रधानमन्त्री ओली भने, ‘निर्वाहमुखी कृषिलाई व्यावसायिक, उत्पादनमुखी, रोजगारमुखी र प्रविधिको प्रयोग मार्फत आधुनिक बनाउन सरकारले कृषि आधुनिकीकरण परियोजना अगाडि सारेको छ, कृषि वस्तुका विषयगत सुपर जोन, जोन र एकाइहरू बनाएर उत्पादन बढाउने लक्ष्य लिइएको छ’,कृषि कर्मबाट नै रोजगारी सिर्जना हुने प्रधानमन्त्रीको विश्वास व्यक्त गरे। ‘कृषिलाई परम्पराबाट आधुनिक व्यवसाय बनाएपछि यसले उत्पादन बढाउने मात्रै नभएर रोजगारी पनि सिर्जना गर्ने छ’, उनले भने।
उनले हुलाकी सडक निर्माणले मधेशको दक्षिण भाग चलायमान बनेको बताउँदै उनले भने, ‘हुलाकी सडकले मधेश/तराईको दक्षिण भाग अनुकूल बनाउन यतायातसँग जोडिएको छ । सहरीकरण गर्न, विकासका काम अगाडि बढाउन र यहाँका जनतालाई धनी बनाउन, औद्योगीकरण बनाउन, भन्सारहरुलाई चलायमान बनाउन, हुलाकी सडकलाई सरकारले प्राथमिकता दिएको छ ।’
प्रधानमन्त्री ओलीले चौतर्फी विकासका लागि शिक्षामा जोड दिन आग्रह गरे । ’छोराछोरीमा भेद्भाव नगरी शिक्षामा ध्यान दिनु पर्ने, राम्रो लाउन र राम्रो खान कम्तीमा पनि छोराछोरीलाई स्कुल पठाई दिन अभिभावहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मधेश जस्तो सुगम ठाउँमा समेत शिक्षाको अभाव रहेको बताए । उनले भने, “मधेशमा यति सुगम ठाउँमा शिक्षाको अभाव थियो, शिक्षामा पहुँच पुरयाउन बालबालिकाले पढन पाउन भनेर हाम्रो ध्यान गएको छ ।”छोराछोरीलाई विना भेदभाव स्कुल पठाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफना बालबालिकालाई जसरी पनि पढाउनुस, सकेसम्म गुणस्तरीय शिक्षा दिनुस् भनेर अभिभावकहरुलाई आग्रह गरे।’ उनले भने, ‘जहाँ शिक्षा छ, त्यहाँ विकास र सम्पन्नता छ, जहाँ शिक्षा छैन, त्यहाँ विकास छैन, गरिबी छ ।
’प्रम ओलीले स्थिर अर्थतन्त्रलाई सुधार गर्दै देशमा ठूलो प्रगति भएको बताउदै उनले भने, ’विगतका ३/४ वर्षमा ओरालो लागेको अर्थतन्त्रलाई पछिल्लो १ वर्षमा सुधार गरिएको छ, पहिले वर्ष दिनमा ९/१० वटा पुल तथा सडकहरु बन्थ्यो । तर अहिले एकै दिनमा ९/१० वटा आयोजनाहरुको शिलान्यास र उदघाटन हुने गरेको छ। सबै जिल्ला, गाउँ, शहरहरु सडकले जोडिएको छ ।’ पहिले सडक संरचना ध्वस्त रहेको उल्लेख गर्दै उनले अहिले १५ हजार किलोमिटर सडक कालोपत्र गरिसकेको बताए।
उनले ७७ जिल्लाको सदरमुकामसँग मात्रै नभई भारतसँग समेत जोडिने सडकहरु समेत पुगेको बताउदै मधेशमा साँधुरो रुपमा रहेको पूर्वपश्चिम राजमार्गलाई समेत हामीले स्तरोन्नती गरि एशियन स्टाइलमा बनाउन लागेको बताए।
पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण कार्य अगाडी बढाउँदै निर्माण कार्य सम्पन्न हुने स्थितीमा रहेको बताउदै केही ठाउँमा वाधा अवरोध र पुलको कारणले मात्रै हुलाकी राजमार्ग पुर्ण हुन अवरोध रहेको बताउँदै हरेक पालिकासँग सदरमुकाम जोडने सडकलाई कालोपत्रे गरेको बताए । उनले भने, “वडा वडामा बाटो पुरयाएका छौं, पुरयाउँदै छौं, सदरमुकाम जोडने सडकहरु कालोपत्रे गरेका छौं ।”उनले आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको संकेत गरेको बताए ।
विकासको कुरा शान्ति सुरक्षा, शिक्षा, सुशासन र विकास सबै तिर हाम्रो ध्यान गएकोमा जोड दिदै प्रधानमन्त्री ओलीले एकदमै आत्मविश्वासका साथ शान्ति सुरक्षाको अवस्था राम्रो हुदै गएको छ र राम्रो हुदैछ उनले भने ।प्रम ओलीले छिमेकी मुलुकहरु संगको सम्बन्ध पनि राम्रो भएको बताए । उनले चीन भ्रमणको लागि भदौ १४ गते जान लागेको बताए । उनले चिनबाट फर्के पछि भारत भ्रमणको लागि पनि जाने तयारी भएको बताए।राजनीतिक प्रसंगमा उनले संघर्षबाट आएका नेताहरूको देशप्रतिको योगदान र माया हुने तर ‘नयाँ शक्ति, भवितव्यंले खुलेका पार्टी’ का नेताहरूको योगदान शून्य रहेको टिप्पणी गर्दै उनले राजावादीहरुको वितन्डा पनि अब सेलाई सकेको बताए । उनले अराजकतावादीहरु जति कराए पनि देश जनताको पक्षमा आफुहरु रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘यो व्यवस्था हामीले संघर्ष गरेर ल्याएका छौं । हाम्रा साथीहरूले बलिदानी दिनु भएको छ, सहादत प्राप्त गरेका छन् । त्यसकारण यो देशको माया हामीलाई छ ।’प्रम ओलीले यहि व्यवस्था रहिरहने तर केही सुदृढ गरिने बताउँदै उनले सरकार पनि परिवर्तन नहुने बताए। उनले देशको विकासमा दुई ठूला पार्टी इमान्दारसाथ लागेको बताए ।
सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव लगायतकाले आफनो मन्तव्य व्यक्त गरेका थिए।मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित सो सडक एक करोडको लागतमा निर्माण हुन लागेको हो ।
प्रम ओलीले शिलान्यास गरेको सोनमा गाउँपालिका वडा नं. ३ मा कालोपत्रे सडक निर्माण हुलाकी राजमार्ग अन्तर्गत रघुनाथपुरबजार–सोनमा–तरहारी–सुन्दरपुर सडक रहेको छ।मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्ड को ८.३८४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो।
२०८३ साल चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ विश्व बैंकको ऋण सहयोगबाट हुने भए पनि टेन्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रा.लि.सँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित)मा सम्झौता भएको छ।यस योजनाअन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ ।सोही परियोजना कै हिस्साको रुपमा यो सडक पनि रहेको छ।




