महोत्तरी - गौरकाण्डमा अध्यक्ष उपेन्द्र यादवलाई फसाउने प्रयास गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट युवा–विद्यार्थीको अगुवाइमा मंगलबार काठमाडौँसहित मधेशका विभिन्न शहरमा विरोध प्रदर्शन गरिएको छ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको घटनाको छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशपछि जसपा कार्यकर्ताहरू आक्रोशित भएका हुन्। पार्टीले यसलाई ‘राजनीतिक षड्यन्त्र’का रूपमा चित्रण गर्दै अध्यक्ष यादवलाई लक्षित गरिएको भन्दै सडक आन्दोलन थालेको हो।
काठमाडौंमा गरिएको मशाल जुलुस तथा प्रदर्शनका क्रममा बबरमहलस्थित माइतीघर मण्डलाबाट जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमन, केन्द्रीय सदस्य हंसा कुमारी साह, सशीकपुर मिया, दिनेश कुमार यादव, अम्बिका काफ्ले, किरण साह, युवा नेता भोगेन्द्र यादव, विकी यादव, बबी सिंह, रेणुराज सिंह, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापडी, युवा नेता दिलिप पटेल र मनिष यादव ओमलगायत करिब १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबार र अनामनगरमा राखिएको छ।

यसैबीच, मधेशका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा भएको प्रदर्शनबाट पनि करिब दर्जनौँ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जसपाले जनाएको छ।
पार्टीले काठमाडौं र महोत्तरीसहित धनुषाको जनकपुर, सिरहा, पर्साको वीरगञ्ज, झापाको बिर्तामोड, सप्तरीको राजविराजलगायतका जिल्लामा समानान्तर विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा जसपा कार्यकर्ताहरूले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए।
पार्टीका नेताहरूले गौरकाण्डसम्बन्धी सर्वोच्चको आदेशलाई पक्षपाती र षड्यन्त्रपूर्ण निर्णय भन्दै यसको विरुद्ध आन्दोलन जारी रहने चेतावनी दिएका छन्।









